सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक : गृहमन्त्री लेखक

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण
सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक : गृहमन्त्री लेखक

फाइल तस्बिर

गृहमन्त्री रमेश लेखकले सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन्।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले ०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए।

परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकामा उनको जोड थियो।

संविधानले विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचीकृत गर्दै तीनवटै तहका सरकारको समन्वय  तथा सहकार्यमा  अगाडि  बढ्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपत् व्यवस्थापनका  सन्दर्भमा  स्थानीय तहहरूलाई विशेष जिम्मेवारी प्रदान गरेको र सोअनुसार तीनवटै सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए।

‘विपत् व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैरसरकारी क्षेत्रअन्तर्गतका विभिन्न संघ–संस्थाहरूले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन्,’ उनले भने, ‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपत् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा महत्त्जपूर्ण योगदान पुर्याएका छन्।’

गृहमन्त्री लेखकले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकायसँगको सहकार्य तथा निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, संगठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोगसमेत भएको बताए। परियोजनाले संघलगायत आठ स्थानीय तहमा विपत् जोखिम न्यूनीकरण तथा  विपत् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पुर्याएको योगदानको उनले प्रशंसा गरे।

अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजनामार्फत उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिनुका साथै आगामी दिनमा समेत विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे।

सुझावित समाचार