खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ। पाँच वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले ०७४ माघ १९ गते शिलान्यास गरेकाे गुम्बा निर्माणको काम अहिले अलपत्र अवस्थामा छ।
कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बाको काम उपभोक्ता समितिमार्फत थालिएको थियो। करिब रु. २१ करोड लगानीमा निर्माण सुरु गरिएको गुम्बाको अहिलेसम्म जग मात्र ठडिएको छ। वर्ष दिनअघि (वि.सं. २०८० भित्र) नै निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बांगिन थालेको छ। निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाँटकाँट छैन।
आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको रु. १५ लाख बजेटमा फाउन्डेसनको काम भएको र आर्थिक वर्ष ०७६/७७ मा प्रदेशको रु. ९९ लाख बजेटबाट ग्राउन्ड फ्लोर र पिलरको डन्डी ठड्याइएको थियो। प्रदेश सरकारले रु. एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत रु. एक करोडभन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले रु. ९९ लाखको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ।
प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनी उपभोक्ता समितिले फरफारक गरे पनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए। गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि ०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच सम्झौता भएको थियो।
नुनथलामा निर्माणाधीन गुम्बा योजनाका काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए। ‘प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु गरिएको थियो, उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गर्याे,’ उनले भने, ‘जग मात्र ठड्याइएको योजनाको काम अहिले पूर्ण रूपमा बन्द छ, अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन, थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ।’
गुम्बा निर्माण योजनाका लागि पहिलो चरणमा प्रदेश सरकारबाट आएको रकम पूरा काम नगरी फरफारक गरेर हिँडेपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङ सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्। गुम्बा निर्माणमा आएको राज्यकोषको काम नै नगरी फरफारक गरेर योजना नै अलपत्र पार्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।
उपभोक्ता समितिका अध्यक्ष तामाङले भने प्रदेश सरकारबाट खटिएका इन्जिनियरले गरेको लागत अनुमानअनुसार नै आफूहरूले गुम्बा निर्माणको काम गरेको दाबी गरेका छन्। ‘तोकिएको काम हामीले सम्पन्न गरेका छौँ, कसले के भन्छ, त्यो हामीलाई सरोकार भएन,’ उनले भने, ‘पछिल्लो समय रकम अभावका कारण निर्माणाधीन गुम्बाको काम रोकिएको छ, सरकारबाट बजेट प्राप्त नभएको खण्डमा चन्दा संकलन गरेर भए पनि निर्माण सम्पन्न गर्ने योजनामा छौँ।’
निर्माणको चरणमै उपभोक्ता समितिका कारण गुम्बा अलपत्र बनेपछि स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन्। निर्माणाधीन गुम्बा अलपत्र पार्ने व्यक्तिलाई सम्बन्धित निकायले समेत कारबाहीको दायरामा ल्याउन चासो नदिएको उनीहरूको आरोप छ। बौद्ध धर्मावलम्बीको जन्म तथा मृत्यु–संस्कार गर्न, विवाह गर्न र बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको उपभोक्ता समितिले जनाएको थियो। गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ (राई)ले एक रोपनी सात आना एक पैसा तीन दाम जग्गा निःशुल्क उपलब्ध गराएकी थिइन्।
बहुउद्देश्यसहित निर्माण सुरु गरिएको सुविधासम्पन्न गुम्बामा बौद्ध धर्मसँग सम्बन्धित १०८ मूर्ति राख्ने योजना बनाइएको थियो। यस्तै, बौद्ध धर्ममा माटोको मूर्ति पवित्र हुने धार्मिक मान्यताअनुसार गुम्बामा माटोका १०० तथा पित्तल र ढलाेटका अन्य मूर्ति राख्ने योजना थियो। पर्यटकीयस्थल नुनथलास्थित संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृंखलाका साथै तराईका समथर भू–भागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ। नुनथलामा गुम्बा बनेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो।