वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कानुनविपरीत गर्भपतनका औषधि बिक्री–वितरण गर्नेलाई महानगरले दण्डित गर्ने बताएका छन्।
‘वीरगन्जमा कानुनविपरीत गर्भपतनका औषधि वितरण भइरहेको सुन्नमा आएको छ, यसमा मिडियाले सहयोग गरे महानगरपालिकाले कारबाही गर्छ,’ मेयर सिंहले भने। सिंहले असुरक्षित गर्भपतनको औषधि बिक्री–वितरण रोक्न चाँडै अनुगमन गर्ने योजना रहेको सुनाए।
‘असुरक्षित गर्भपतनको औषधि बिक्रीले महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ, त्यसैले यसलाई रोक्न महानगर सक्रिय हुँदै छ,’ उनले भने। मेयर सिंहले सुरक्षित गर्भपतन सेवाबारे विशेष गरी किशोर–किशोरीहरूलाई लक्षित गरेर थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा यादवले जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाहरूको संख्या बढ्दै बताइन्। स्वास्थ्य कार्यालयका अनुसार, आर्थिक वर्ष ०८०/८१ मा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या १६७१ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.५ प्रतिशतले बढी हो।