धाैलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

यस वर्षको शरदयाममा म्याग्दीस्थित धाैलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ अग्लो धाैलागिरि हिमाल म्याग्दीको धाैलागिरि गाउँपालिका– ४ मा पर्दछ। एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले धाैलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। 

विभागका अनुसार धाैलागिरि हिमाल आरोहणको अनुमति लिएकाबाट  १६ लाख ८९ हजार ३० रुपैयाँ सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ। गत वसन्तयाममा तीन समूहका २२ पुरुष र आठजना महिलाले धाैलागिरि हिमाल आरोहण गर्ने अनुमति लिएका थिए। सोबापत  ७१ लाख ७० हजार ७५० रुपैयाँ शुल्क संकलन भएको विभागले जनाएको छ।  

आरोहण अनुमति लिएका आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर आउने तयारी गरेका इटली आधार शिविरका होटेल व्यवसायीसमेत रहेका धाैलागिरि गाउँपालिका– ४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए।

पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालू यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र २७४ जना पुरुषले अनुमति लिएका छन्। उनीहरूबाट रु. चार करोड ५२ लाख ४५ हजार ८४८ आरोहण शुल्क प्राप्त भएको छ । 

 शरद्मा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ। अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।  

शरदयाममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका ३०८ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। मनास्लुपछि धेरै आरोहणको अनुमति लिएको हिमाल धाैलागिरि हो । 

सुझावित समाचार