यातायातविज्ञ आशिष गजुरेललाई तीन प्रश्न

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

दसैँमा सधैँ यातायात व्यवस्थापनमा किन समस्या भइरहन्छ ? 
हाम्रो सार्वजनिक यातायातमा राज्यको लगानी छैन । दसैँमा पनि अन्य समयकै संख्यामा सवारी साधान उपलब्ध हुनु अर्को समस्या हो । दसैँमा यात्रुको चाप बढी हुन्छ । धेरै यात्रु घर फर्कन्छन् । यात्रुको चापअनुसार यातायातका साधन व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो । दसैँको वेला उपत्यकाबाट बाहिरिने यात्रुको संख्या १५÷१६ लाख हुन्छ । तर, सार्वजनिक सवारी साधनको संख्या भने सामान्य अवस्थामा जस्तै हुन्छ । अन्य सामान्य समयको माग धान्न सक्ने सवारी साधनले मात्र दसैँमा यात्रा गर्ने यात्रुको चाप थेग्न सक्दैनन् अनि समस्या हुन्छ ।

दसैँको समयमा यातायात व्यवस्थापनका उपाय के–के हुन सक्लान् ? 
यात्रुको माग बढेसँगै बसको संख्या बढाउनुपर्छ । र, यात्रुको मागअनुसार बससेवा उपलब्ध हुनुपर्छ । त्यसका लागि एउटा उपाय हुन सक्छ, विद्यालय, कलेज र सरकारी बसको प्रयोग । एउटा समिति बनाएर अध्ययन गरी स्कुल, कलेज र सरकारी बस चलाउन सकिन्छ । तर, सही कन्डिसनमा रहेका बस मात्र सञ्चालन गर्नुपर्छ । दसैँका लागि मात्रै भनेर राज्य र व्यवसायीले बस किन्न सक्दैनन् । त्यसैले, यो विकल्प उपयुक्त हुन सक्छ । 

दसैँको वेला हुने दुर्घटना रोक्न कस्तो सावधानी अपनाउनुपर्ला ? 
दसैँको यात्रालाई सुरक्षित बनाउन यात्रुको हकमा ओभरलोड भएका गाडीमा यात्रा गर्नु हुँदैन । व्यवसायीको हकमा आराम नपुगेको चालकलाई सवारी साधन चलाउन बाध्य पार्नु हुँदैन । कन्डिसनमा रहेका सवारी मात्रै चलाउने गर्नुपर्छ । यसबाहेक ट्राफिक नियमका साथै अन्य सडक सुरक्षासम्बद्ध नियम पालनामा कडाइ गरिनुपर्छ । यस्तै, राज्यले सवारी साधनलाई बढी निगरानीमा राख्नुपर्छ र यात्रा सुरक्षित बनाउनुपर्छ । बर्खामा बिग्रे–भत्केका सडक पूर्वाधारलाई समयमै मर्मतसम्भार र व्यवस्थित गर्नुपर्छ ।

सुझावित समाचार