मकवानपुर जिल्ला लिगः पोताला र पदमपोखरी सेमिफाइनलमा

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लब सेमिफाइनल प्रवेश गरेका छन्।

सोमबार भएको क्वाटरफाइनलबाट पोतालाले न्यू कम्बाइन क्लब र पदमपोखरीले सक्षम युवा क्लब नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। हेटौँडा- ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो।

खेलमा नियमविपरीतका खेलाडी खेलाएको भन्दै कम्बाइनले पोतालाविरुद्धमा उजुरी दर्ता गराएको छ। पोतालाबाट खेलेका सन्त घलेको गोरखा जिल्लाको नागरिकता भएको, बसाइँसराइ नभएको र गोरखा जिल्लाको लिगसमेत खेलेको भन्दै कम्बाइनले उजुरी गरेको हो। कम्बाइनको उजुरीका विषयमा निर्णय हुन भने बाँकी छ। 

सोमबार नै भएको दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो। निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमार्फत विजेताको छिनोफानो गरिएको हो। 

टाइब्रेकरमा पदमपोखरीको तर्फबाट सोमबहादुर स्याङ्तान, रजक थिङ र बिजेश तितुङको प्रहार गोलमा परिणत हुँदा  शुकराज घिसिङ, इमामी मोक्तान र मदन थिङले गोल गर्न सकेनन्। यस्तै, सक्षमका निश्चल घलान र सन्देश लामाको प्रहार मात्रै गोलमा परिणत भएको थियो। विकल उप्रेती, सविन गिरी, विशाल तामाङ र राज थिङले गोल गर्न सकेनन्।

जारी प्रतियोगितामा मंगलबार पनि क्वाटरफाइनल चरणको दुई खेल हुने आयोजकले जनाएको छ। पहिलो खेल गोर्खा ब्वाइज क्लब हेटौँडा र सहिद स्मृति क्लब बागमती गाउँपालिकाको बिचमा हुनेछ भने दोस्रो खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब र साबिक विजेता न्यु डाँफे क्लबबिच खेल हुनेछ।

जिल्लाका २८ क्लबको सहभागिता रहेको जारी लिग असोज १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले एक लाख  नगद पुरस्कारसहित प्रदेश लिगमा खेल्ने अवसर पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

सुझावित समाचार