समाज सेवा युवा क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट र लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
यससँगै चित्लाङ र समाज सेवा दुवै काठमाडौं लिगमा छनोट भएका जिल्ला फुटबल संघ काठमाडौंका अध्यक्ष विराटजंग शाहीले बताए। लिगमा १३ टोलीको सहभागिता रहनेछ।
सोमबार सानोगौचरन मैदानमा सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
पेनाल्टीमा चित्लाङका दीपक थापा, सुनील थापा, सुजित बुढाथोकी, सकल रेग्मी र आयुष कुमारले गोल गरे। विकास लामा र यमन महर्जन भने चुके। यता समाज सेवाका अभिषेक श्रीपाली, पदमबहादुर तामाङ, रविन गुरुङ र विवश गुरुङ गोल गर्न सफल हुँदा मिलन तामाङ, मनोज कमल र ओम आलेमगरको प्रहार गोलमा परिणत भएन।
काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा समाज सेवाले कुर्दन फुटबल एकेडेमी तथा चित्लाङले भुँइखेल फुटबल क्लबलाई पराजित गरेका थिए।
लिगको विजेता भने प्रदेश लिगको लागि छनोट हुनेछ।