धनगढीमा सहुलियत मूल्यमा चामल बिक्री सुरु

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण

चाडपर्वलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सर्वसाधारणलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन थालेको छ। खाद्यको प्रादेशिक कार्यालय धनगढीले दुई ठाउँबाट सहुलियत मूल्यमा सर्वसाधारणलाई चामल बिक्री सुरु गरेको छ।

धनगढी मुख्य बजारस्थित कार्यालयको व्यापारिक कम्प्लेक्स र मोहनपुरस्थित डिपोमा सोमबारबाट सहुलियत मूल्यमा चामल बिक्री सुरु भएको हो। चाडपर्वका अवसरमा खाद्यले हरेक प्रकारको चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिएको छ। किलोमा पाँच रुपैयाँ छुटसहित अरुवा मोटो चामल धनगढीमा प्रतिकिलो ५८ रुपैयाँ, जिरा मसिनो चामल प्रतिकिलो ८९ रुपैयाँ र सोना मन्सुली चामल प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको सूचना अधिकारी नवीनबहादुर बुढाले बताए।

दसैँ, तिहारलाई लक्षित गरेर सुदूरपश्चिममा बैतडीबाहेक सबै जिल्लामा सहुलियत मूल्यमा चामल बिक्री सुरु गरिएको खाद्यको प्रादेशिक कार्यालयका सूचना अधिकारी बुढाले जानकारी दिए। बैतडीमा भने खाद्यको डिपो र कर्मचारी नभएकाले सुरु गर्न नसकिएको उनले बताए। त्यहाँ सहुलियतमा खाद्यान्न बिक्री सुरु गर्नका लागि सरोकारवालासँग समन्वय भइरहेको खाद्यले जनाएको छ।

धनगढीमा साल्ट ट्रेडिङको समन्वयमा अर्को ठाउँबाट पनि सहुलियतमा चामल बिक्रीको तयारी भइरहेको खाद्यले जनाएको छ। खाद्यले बिक्री गरिरहेको चामल बजारमा व्यापारीले बिक्री गर्ने चामलभन्दा सस्तो रहेको बताइएको छ। खाद्यको प्रादेशिक कार्यालयका अनुसार दसैँ, तिहार, छठजस्ता नेपालीहरूका ठूला पर्वलाई लक्षित गरेर सुरु गरिएको सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुनेछन्। 
    
 

सुझावित समाचार