महानगरका वडाहरूमा उत्पादित सामग्रीहरूको प्रदर्शनी सुरु

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’अन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ। गत भदौ ३० मा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पायर भेन्चर्सका कार्यकारी निर्देशक निरुसा राजभण्डारीले यसबारेमा हस्ताक्षर गरेका थिए।

सम्झौताबमोजिम ४ असोजदेखि नमुना उद्यमबाट उत्पादित वस्तु तथा सामग्रीको बिक्री तथा प्रवर्द्धनका लागि स्टल राख्न सुरु भएको छ । सम्झौता १ वर्षका लागि गरिएको हो । यस अवधिमा हरेक शुक्रबार र शनिबार सामान प्रदर्शन र बिक्रिको लागि स्टल राखिनेछ । स्टलका लागि स्थान निःशुल्क उपलब्ध भएको महानगरले जनाएको छ । प्रदर्शनीमा शुक्रबार १७ वटा स्टल राखिएका थिए । उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार १५ वटा वडाबाट छनोट भएका नमुना उद्यम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं. ६ र १४ एक एक वटा समूह गरी १७ वटा समूहका स्टल छन्।

भेन्चर्सका कार्यकारी निर्देशक निरुशा राजभण्डारीले हाल २० वटा स्टल राखिएको बताइन्। ‘महिला उद्यमीको उत्पादन प्रवर्द्धन गर्न महानगरपालिकासँग सहकार्य गर्न पाएका छौँ,’ उनले भनिन्, ‘यसबाट महिलाहरूको आर्थिक उपार्जनमा सुधार हुने अपेक्षा गरेका छौँ ।’ 

महानगरपालिकाको वडा नं. १ र ३० को नमुना उद्यम गुन्द्रुक र मस्यौरा हो। यस्तै, वडा नं. २ को मस्यौरा र तितौरा, वडा नं. ३ र ४ को फेल्टको सामान बनाउने, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिस्टल तथा पोतेको गहना बनाउने उद्यम नमुना उद्यमका रूपमा छानिएको छ। 

वडा नं. ८ कोदुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ को रुद्राक्षको मालार धुप बनाउने, वडा नं. १० को मस्यौरा र अचार बनाउने, वडा नं. १२ को सुकुल बनाउने, वडा नं. १६ को काष्ठकला, वडा नं. २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ को जुत्ता बनाउने, वडा नं.२४ को ब्याग बनाउने र वडा नं.३२ को अचार बनाउने उद्यमलाई नमुनाका रूपमा छानिएको छ। 

यीमध्ये वडा नं.५ मा उद्यमका लागि प्रविधि हस्तान्तरण भएको छ। यो उद्यम विकासको अर्को चरण हो। वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरू उत्पादन हुन थालेपछि यसको प्रवर्द्धन र उत्पादनको मात्रा बढाउन प्रविधि हस्तान्तरण गरिएको हो।

सुझावित समाचार