दसैँलक्षित अग्रिम टिकट खुलाउने तयारी

शनिबार, ५ असोज, २०८१
डिजिटल संस्करण

दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट छिट्टै खुल्ने भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरूबिच सो निर्णय गरेको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभागअन्तर्गतका सबै सडकहरू घटस्थापनाअघि नै मर्मतसम्हार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतमलगायतका प्रतिनिधिहरू सहभागी छलफलले बिपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय/ नेपाल प्रहरीमा आग्रह गर्नेसमेत निर्णय भएको छ। यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोटिङ गर्नुपर्नेछ। 

यस्तै, यात्रुहरूको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन विगत एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेकको अन्य कारणले गर्नुपर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठपर्वपछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने भनिएको छ। 

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूको सम्बाेधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवं अन्य निकायसँग सम्वन्धित सुझावहरू कार्यान्वयनका लागि सम्बन्धित सुझावहरू कायान्वयनका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्ने छलफलले निर्णय गरेको छ।

यातायात व्यवस्थापनसँग सम्वन्धि अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न सोही छलफलले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ। 

सुझावित समाचार