ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन प्रतियोगिता सुरु भएको छ। म्याराथनका लागि एक विदेशीसहित ५६ जनाले आवेदन दिएका थिए। त्यसमा महिला १६ जना र पुरुष ४० रहेकोमा ५१ जना म्याराथनमा सहभागी छन्। प्रतियोगिताको प्रचार तथा सूचना प्रविधिको संयोजन गरिरहेका दिलकुमार लिम्बूका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका एक नागरिक म्याराथनमा सहभागी छन्।
अन्तर्राष्ट्रिय रेडपान्डा संरक्षण दिवसको अवसर पारेर प्रतियोगिता गरिएको हो। आवेदन दिएकामध्येबाट पाँच महिलाले भाग लिएनन्। फुङलिङ बजारको तोक्मेडाँडाबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजार फर्कने गरी कुल ४८ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका विजेता घोषित गरी नगद एक लाख रुपैयाँ पुरस्कार दिइनेछ भने सर्वाेत्कृष्ट धावकबाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः जनही ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ।
यस्तै ताप्लेजुङ, पाँचथरको फालेलुङ गाउँपालिका- ६ का वडाध्यक्ष अबरवीर राईसहित, इलामबाट पनि सहभागी भएको आयोजकले बताएको छ। सो म्याराथनको उद्घाटन ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका संयोजक छिरिङ शेर्पा, रेडपान्डा नेटवर्कका कन्ट्री मेनेजर आङछिरिङ शेर्पा, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायतले म्याराथनको उद्घाटन गरेका थिए।