राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँः राष्ट्रपति पौडेल

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण
राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँः राष्ट्रपति पौडेल

तस्बिर : रासस ।

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गरेका छन्।
संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलतनिवासमा बिहीबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन्। 

‘हामी संकल्प गरौँ कि हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन्। नागरिकको हितबाहेक हाम्रो राज्यको अरू कुनै स्वार्थ हुनेछैन,’ उनले भने। 

लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प चाहिने भन्दै उनले थपे, ‘लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भई अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ। हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्त्वपूर्ण संकल्प गरौँ कि हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहनेछौँ। जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछौँ र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ। यस्तै, हामी सुशासनप्रति प्रतिबद्ध रहनेछौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्य-मान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ।’ 

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न संवैधानिक आयोगका प्रमुखहरू तथा मन्त्रीहरूलगायतका विशिष्ट अतिथिको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति पौडेलले थपे, ‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ। जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौँ भन्ने संकल्प पनि गरौँ।’ 

राष्ट्रपतिले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताए। ‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस्,’ राष्ट्रपतिले भने।

भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न पनि संकल्प गर्नुपर्ने बताउँदै उनले उत्साह र उमंगका साथ संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बाल्न आग्रह गरे। ‘किनभने, यो निराश बस्ने समय होइन, यो हामीबिच आरोप–प्रत्यारोप गर्ने समय होइन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, यो एकताबद्ध हुने समय हो, यो आफैँप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निराशाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्,’ राष्ट्रपति पौडेलले भने। 

सुझावित समाचार