इन्टर्नसिपबारे बंगलादेशसँग शिक्षा मन्त्रालयले सूचना नै गलत मागेको आरोप

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

बंगलादेशमा अध्ययनरत एमबिबिएसका विद्यार्थीहरूले नेपालमा इन्टर्नसिपको मागबारे शिक्षा मन्त्रालयले बंगलादेशसँग सूचना नै गलत मागेको आरोप लगाएका छन् । इन्टर्नसिपका लागि बंगलादेश फर्कने वातावरण नभएको भन्दै नेपालमै गर्न पाउने व्यवस्था मिलाइदिनुपर्ने विद्यार्थीले माग राखेका थिए ।

तर, शिक्षा मन्त्रालयले नेपालमा इन्टर्नसिप गर्न पाउने वा नपाउने सूचना माग्नुपर्नेमा बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन नेपालमा इन्टर्नसिप गर्न पाउने नपाउने विषयमा सूचना मागेको विद्यार्थीहरूले आरोप लगाएका हुन् ।

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आएका विद्यार्थी नवीन यादव भन्छन्, ‘अध्ययन समितिले कुनै अध्ययन नै नगरी विद्यार्थीहरूलाई छल्ने र निरुत्साहित गर्ने काम गरेको छ । नेपाली दूतावासमार्फत पठाइएको पत्रमा बंगलादेशमा रजिस्टर्ड हुन त्यहीँको कलेजमा इन्टर्नसिप गर्नुपर्ने उल्लेख गरिएको छ, तर मन्त्रालयले सूचनामा बंगलादेशको मेडिकल काउन्सिल भन्ने उल्लेख नै गरेको छैन ।’ 

नेपालमा इन्टर्नसिप गर्न पाउने वा नपाउने विषयमा शिक्षा मन्त्रालयले गठन गरेको अध्ययन समितिले दूतावासमार्फत बंगलादेशसँग सूचना मागेको थियो । बंगलादेशले त्यहाँको मेडिकलमा दर्ता हुन अध्ययन गरेकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भन्दै पत्र पठाएको हो । पत्रमा बंगलादेशको मेडिकल काउन्सिलमा दर्ता हुने मापदण्ड मात्रै उल्लेख गरेको हो, जब कि नेपाली विद्यार्थीहरू बंगलादेशमा नभई पढाइ सकेर नेपालको मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने नियम छ । 

सुझावित समाचार