दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

शनिबार, २९ भदौ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्। महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए। 

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबी दमाईं दाउरा संकलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन्। तीमध्ये सौरभको शव फेला परेको छ। दोधारा-चाँदनी झोलुंगे पुलनजिक महाकाली नदीकिनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

महाकालीमा बगेका अर्का किशोर अबीको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्। लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढी भएकाले नदीको किनारैकिनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार