महिला उद्यमी महासंघ नेपालले पेरिस पारा ओलम्पिक खेलकुद प्रतियोगितामा कांस्य पदक जितेकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई बिहीबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महासंघ नेपालले आफ्नो २१औँ वार्षिक साधारणसभाका अवसरमा पलेसालाई ५० हजार पाँच सय रुपैयाँ प्रदान गर्दै सम्मान गरेको हो । महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेसालाई व्यक्तिगत नगदबाट सम्मानित गरेकी हुन् । ज्ञवालीले पलेसाको मिहिनेतबाट पेरिसमा सफलता प्राप्त गरेको बताइन् ।
सम्मानित भएकी पलेसाले प्रतिस्पर्धामा लड्नभन्दा अगाडि समाजसँग लड्न आफूले धेरै चुनौतीको सामना गर्नुपरेको बताइन् । उनले आत्मविश्वास र दृढ संकल्प भए हरेक अप्ठ्यारा परिस्थिति पार गर्न सकिने बताइन् । महिला उद्यमीबाट सम्मान पाउँदा आफूलाई धेरै गर्विलो महसुस भएको उनको भनाइ थियो ।