सय अन्तर्राष्ट्रिय खेल खेल्ने केन दशौँ इंग्लिस फुटबलर

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

कप्तान ह्यारी केन इंग्लिस फुटबल इतिहासमा सय अन्तर्राष्ट्रिय खेल खेल्ने दशौँ फुटबलर बनेका छन् । केनले यो सफलता नेसन्स कप फुटबल प्रतियोगितामा फिनल्यान्डविरुद्ध प्राप्त गरेका हुन् । कीर्तिमानी खेलमा उनले दुई गोलसमेत गरेका थिए । उनकै गोलमा इंग्ल्यान्डले फिनल्यान्डलाई २–० ले हरायो । इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पिटर सेल्टन हुन् । गोलरक्षक पिटरले सर्वाधिक १२५ खेल खेलेका छन् । 

सन् २०१५ मा लिथुनियाविरुद्ध डेब्यु गरेका केन निरन्तर इंग्लिस टोलीमा छन् । प्रशिक्षक गेराथ साउथगेटले उनलाई कप्तानीको जिम्मेवारी दिएपछि इंग्ल्यान्डले पछिल्लो समयमा अन्तर्राष्ट्रिय फुटबलमा राम्रो पकड बनाएको छ । सन् २०१८ को रसिया विश्वकपमा सेमिफाइनल तथा सन् २०२० को युरो च्याम्पियनसिपमा इंग्ल्यान्डले फाइनल खेलेको थियो । 

सन् २०१४ पछि इंग्लिस टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेल्ने केन पहिलो खेलाडी हुन् । एक दशकअघि वाइनी रुनीले सय क्याप पूरा गरेका थिए । केनले आफ्नो अद्भुत सफलतालाई विशेष मानेका छन् । ‘यो संख्या छुन कठिन छ । तर, मैले इंग्ल्यान्डको टोलीबाट सहजै पूरा गरेँ,’ केनले भने, विम्बली मैदानमा केनको ऐतिहासिक दिनमा परिवार पनि थिए । केन मैदानभित्र प्रवेश गर्ने क्रममा उनका दुई छोरी पनि सँगै थिए । 

इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता
केनले ७३ अन्तर्राष्ट्रिय खेलमा कप्तानको भूमिका निर्वाह गरेका छन् । उनी इंग्लिस फुटबलकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन् । उनले अहिलेसम्म ६८ गोल गरेका छन् । उनीपछि रुनी हुन् । रुनीले ५३ गोल गरेका थिए ।

इंग्ल्यान्डले केनको कप्तानमा मेजर फुटबल प्रतियोगिता जित्ने लक्ष्य राखेको छ । सन् २०१८ को फिफा विश्वकपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । क्रोएसियासँग अतिरिक्त समयमा पराजित हुनुअघि उनले ६ गोल गरेका थिए । उनकै कप्तानीमा इंग्ल्यान्डले दुईपटक युरो च्याम्पियनसिप खेल्यो । सन् २०२४ को संस्करणमा इंग्ल्यान्ड स्पेनसँग पेनाल्टी सुट आउटमा पराजित भयो । जसकारण इंग्ल्यान्ड सन् १९६६ पछि मेजर फुटबल प्रतियोगिता जित्नबाट वञ्चित भयो । 

केनभन्दा अगाडि को छन्  ?
इंग्ल्यान्डको फुटबल इतिहासमा पिटर सेल्टन सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । पिटरपछि रुनी हुन् । सन् २००३ मा अस्ट्रेलियाविरुद्ध डेब्यु गरेका रुनीले १२० अन्तर्राष्ट्रिय खेल खेले । रुनीले टोलीका लागि ५३ गोल गरेका छन् । इंग्ल्यान्डका रोल मोडल मानिने डेभिड बेकह्याम तेस्रो पंक्तिमा छन् । सन् १९९६ मा मोल्डोभासँगको खेलमा डेब्यु गरेका बेकह्यामले ११५ अन्तर्राष्ट्रिय खेल खेल्दै १७ गोल गरे । बेकह्यामकै समकालीन खेलाडी स्टेभन जेडार्डले ११४ तथा वबी मारेले १०८ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । इंग्ल्यान्डको महिला फुटबलमा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने फारा विलियम्स हुन् । उनले सन् २००१ देखि ०१९ सम्म १७२ खेल खेलेकी थिइन् । 

See More On

सुझावित समाचार