इजरायलले मध्यगाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।
गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालयपरिसरमा पहिले नै धेरैपटक हवाई हमला भइसकेको छ। पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसलाई विस्थापित गरेको जनाइएको छ।
‘इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँपटक बम प्रहार गरेको छ। आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान गएको छ। यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएका छन्,’ गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन्।
युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना ६ जना कर्मचारीको मृत्यु भएको जनाएको छ। मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसंघीय निकायले जनाएको छ।
गाजामा धेरै विद्यालय विस्थापितलाई आश्रय दिन पुनर्निर्माण गरिएको छ भने विद्यालयमा बारम्बारको युद्धले बिथोलिएका गाजाको जनसंख्याको ठुलो हिस्साले आश्रय लिइरहेको छ।
इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दा प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ। इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जावनी क्षेत्रभित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटिक आक्रमण’ गरेको जनाएको छ।