मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्त्व प्रवर्द्धन गर्न काठमाडौं महानगरपालिकाले अर्केस्ट्रा सम्पन्न गरेको छ। धुन बजाउन सुरु हुने दिन अर्थात् यंला महिनाको अष्टमीका दिन पारेर स्वयम्भूको धर्मचक्र पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, अमूर्त सम्पदाको सूक्ष्म विषयलाई उजागर गर्ने महानगरपालिकाको कार्यक्रमलाई मालश्री धुनको प्रस्तुतिले योगदान दिने बताइन्।
मालश्री धुन दसैँ लागेपछि मात्र बजाउने चलनजस्तो देखिएको छ। दाफा संगीतअन्तर्गत पर्ने यो धुन काया अष्टमीदेखि बजाउने परम्परा हो । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले छोडिँदै र चलनबाट बाटो बिराउँदै गएका संस्कारलाई मौलिक अवस्थामा पुनर्स्थापना प्रयासअन्तर्गत कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
कार्यक्रममा जति तालको मालश्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको मालश्री धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित विविध धुन तथा रागहरू प्रस्तुत गरिएका थिए। प्रस्तुत धुनमा खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायत मौलिक वाद्यवादन प्रयोग गरिएको थियो।
कार्यक्रममा नेपाली भाषाका गीतका धुनहरू प्रस्तुत गरिएका थिए। कार्यक्रम स्वर्णिम योजना ‘सांस्कृतिक सहर’अन्तर्गत सम्पन्न भएको हो। कार्यक्रमका फोकल पर्सन तथा सम्पदा तथा पर्यटन विभागका सहायक निर्देशक धर्म मुनिकारका अनुसार मालश्री धुन बजाउने चलन दाफा संगीतसँगै सुरु भएको मानिन्छ। यसमा मौसम, खेतीपातीलगायत जीवनशैलीसँग सम्बन्धित गायन पनि हुन्छ । मालश्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइन्छ।