मकवानपुर जिल्ला लिग : सहिद स्मृति क्लब र पोतालाको अपराजित यात्रा कायमै

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलपछि बागमती गाउँपालिकाको सहिद स्मृति क्लब समूह ‘घ’ र पोताला समूह ‘क’ शीर्ष स्थानमा यथावत् रहेका छन्।

बुधबार दुवै टोलीले आ–आफ्नो खेलमा जित निकाल्दै शीर्षस्थान यथावत् राखेका हुन्। प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा सहिद स्मृति क्लबले चाइना क्वाटर क्लबलाई ३–२ गोल अन्तरले हराउन सफल भयो।

जितसँगै सहिद स्मृतिले आठ अंक जोडेको छ। सहिद स्मृतिको जितका लागि पवन दर्लामीले दुई तथा सुरज थिङले एक गोल गरे। एक समय एक गोलले पछि परेको अवस्थालाई उल्टयाउँदै सहिद स्मृतिले जित निकालेको हो।

चाइना क्वाटरका तर्फबाट सुरज जिम्बा र नसिव बर्तौलाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यही समूहअन्तर्गत भएको अर्को खेलमा प्रगतिशील युवा क्लब हेटौँडा– १७ ले युनाइटेड नाइन क्लब हेटौँडा– ९ लाई ४–० ले हराएको छ।

प्रगतिशीलको तर्फबाट तिराज माझीले ह्याट्रिक गर्दा अनिल माझीले एक गोल गरेका थिए। जितसँगै प्रगतिशील क्लबको सात अंक भएको छ । यस समूहमा तीन खेल मात्रै खेलेको हाँडीखोला युथ क्लब र चार खेल खेलेको पशुपति युवा क्लबको समान सात अंक रहेको छ ।

समूहअन्तर्गत बुधबार भएको अर्को खेलमा प्रतिभा क्लबले पशुपति युवा क्लबलाई ४–० ले हराएको छ। पहिलो हाफ गोलरहित बराबरी खेलेको प्रतिभाले दोस्रो हाफमा चार गोल गरेको हो। प्रतिभाका लागि सुनील थिङ र सोहित वाइबाले समान दुई-दुई गोल गरे। प्रतिभाले तीन खेल खेल्दा बुधबार पहिलो जित निकालेको हो। योसँगै प्रतिभाको तीन अंक भएको छ।

यता,  बुधबार प्रतियोगिताअन्तर्गत चौथो खेल खेल्दै एफसी पोतालाले समूह ‘क’ मा  शीर्षस्थानमा कायम राखेको छ। बुधबारको खेलमा जित निकालेको पोतालाको १० अंक भएको छ।

बुधबारको खेलमा पोतालाले हेटौँडा भेट्रान्सलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ। पोतालाको जितका लागि ऋषि मोक्तानले ह्याट्रिकसहित पाँच र दाबा लामाले ह्याट्रिक गर्दा प्रितम स्याङ्बो र पाल्देन लामाले एक-एक गोल गरे ।

यस्तै, समूह ‘क’बाट एक खेल कम खेलेको सक्षम युवा क्लब नेवारपानी ६ अंकसहित दोस्रो स्थानमा र परेली क्लब बस्तीपुर पाँच अंकसहित तेस्रो स्थानमा रहेका छन्। यस समूहमा रहेका एफसी इन्टरनेटको तीन खेलबाट चार अंक, आरआरएफसी र विजय युथको एक अंक रहेको छ। हेटौँडा भेट्रान्स भने अझै जितको खोजीमै रहेको छ।

सुझावित समाचार