लमजुङ जिल्ला पूर्ण विद्युतीकरण

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

लमजुङ जिल्ला पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले आर्थिक वर्ष ०८०/८१ को असारभित्र जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारणलाइनमार्फत विद्युत् वितरण गरेको हो । कार्यालयका अनुसार राष्ट्रिय प्रसारणमार्फत विद्युत् वितरणका लागि सबै स्थानमा संरचना निर्माण गरेर विद्युतको पहुँच पुर्याइएको हो ।

यसअघि राष्ट्रिय विद्युत् नपुगेका गाउँमा स्थानीय नागरिक लघुजलविद्युतकै भरमा बस्न बाध्य थिए । अहिले जिल्लाभर विद्युत् पुर्याइएको कार्यालय प्रमुख मेघनाथ भट्टराईले बताए । यसअघि स्थानीयले लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युतले गुजारा चलाउँदै आएका थिए ।

राष्ट्रिय विद्युत् वितरण बाँकी रहेका जिल्लाको दुधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ अन्तर्गतका गाउँ, मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर– ४ अन्तर्गत जगत र च्याम्चे गाउँ र क्होलासोँथार गाउँपालिका– ४ अन्तर्गत भुजुङ गाउँमा राष्ट्रिय विद्युत् प्रसारणलाइन पुगेको केन्द्रले जनाएको छ ।

लमजुङमा साना–ठूला आयोजनाबाट २४० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । केन्द्रले जिल्लामा उत्पादित विद्युतलाई उदीपुरस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । वितरण केन्द्रले तनहुँ जिल्लाको भानु नगरपालिकाको चारवटा वडा र लमजुङभर ३९ हजार घरमा विद्युत् वितरण गरेको छ ।  
 

सुझावित समाचार