मनकामना केबुलकारलाई अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति गरिएको छ । मनकामना दर्शन प्रालिले दुई महिना लगाएर अस्ट्रियाको केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा केबुलकारको स्तरोन्नति गरेको हो ।
३१ असारेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै केबुलकार १ असोजदेखि पुनः सुचारु हुने बताइएको छ ।
मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो । कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरूप स्तरोन्नति गरेको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।