‘क्लिन बागलुङ’का लागि ‘जिरो वेस्ट’अभियान

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

बागलुङ नगरपालिकाले सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्रलाई सफा र सुन्दर बनाउनका निम्ति ‘जिरो वेस्ट’ अर्थात् सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान सञ्चालन गर्न थालेको छ। नगरपालिकाले बजार क्षेत्रलाई सफा र सुन्दर अर्थात् ‘क्लिन बागलुङ’ बनाउनका निम्ति यो अभियान सञ्चालन गर्ने भएको छ। अभियान सञ्चालन गर्नुपूर्व विगत डेढ दशकदेखि फोहोर फाल्नका लागि प्रयोग गरिएको स्थान बागलुङ नगरपालिका– १ काठेखोलाछेउको खुदुर्केेमा रहेको डम्पिङसाइटलाई थप व्यवस्थापन गरेको छ। 

पुरानो फोहोरलाई अयन्त्रै व्यवस्थापन गरी नयाँ फोहोरलाई वर्गीकरण गरेर यसको उचित सदुपयोगका गर्न काम अगाडि बढाएको छ। नयाँ फोहोर व्यवस्थापनका निम्ति डम्पिङसाइट क्षेत्रमा केही संरचना निर्माण गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्।

फोहोरको वर्गीकरण गरिने
नगरपालिकाले चालू वर्ष एक करोड रुपैयाँ खर्चेर पुरानो फोहोर व्यवस्थापन गर्नुका साथै वर्गीकरण गरी ‘जिरो वेस्ट’ परियोजना सञ्चालनको काम अगाडि बढाएको छ। ‘जिरो वेस्ट’का लागि नगरपालिकाले तीन खण्ड बनाएर कुहिने, नकुहिने र सिसाजन्यलगायतका खतरा फोहोरको व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए । ‘बागलुङ नगरलाई ‘क्लिन’ बागलुङको रूपमा चिनाउन फोहोरको वर्गीकरण गरी व्यवस्थापनमा लागेका छौँ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने, नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने व्यवस्थापन मिलाइएको छ। अस्पतालजन्य फोहोर, सिसासमेतलाई शून्य बनाउने कोरियाली प्रविधिको मेसिन भित्र्याएर यसको व्यवस्थापन गर्नेछौँ। पहिलो चरणमा घरघरबाटनै यो अभियान सञ्चालन हुनेछ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकोले नगरपालिकाले तीनवटै फोहोर संकलन गर्ने स्थानमा पनि भुइँ ढलान गरेर जस्तापाताले छाउने तयारी थालेको छ ।’

प्रत्येक घरमा रातो, निलो र हरियो बाल्टीको व्यवस्थापन
नगरपालिकाले हरेक घरमा तीनवटा बाल्टी वितरण गर्ने र कुहिने, नकुहिने साथै सिसाजन्य वस्तु त्यसमा संकलन गरिनेछ। संकलन गरेका तीनथरी फोहोरलाई छुट्टाछुट्टै गाडीले संकलन गरेर व्यवस्थापन गरिने पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिए।  त्यसका लागि नगरपालिकाले वितरण गर्ने रातो, निलो र हरियो बाल्टी जस्तै फोहोर संकलन गर्ने गाडी पनि तीन रंगको बनाएको छ ।

नगरवासीले तीन बाल्टीमध्ये एक किन्नुपर्नेछ भने दुईवटा नगरपालिकाले निःशुल्क प्रदान गर्नेछ। यसरी संकलन गरिएको फोहोरलाई डम्पिङसाइटमा पनि वर्गीकरणको स्थान बनाइएको छ भने त्यसका लागि पुरानो ठेक्का पवृत्ति हटाई नगरपालिकाले नै कर्मचारी खटाउने बताइएको छ। 

फोहोर व्यवस्थापनका निम्ति कोरियाको वातावरण विभागको ‘एएलकेइसिओ’ कम्पनीसँग पनि नगरपालिकाले प्रारम्भिक सम्झौता गरिसकेको छ। मेसिनमा फोहोर जलाउँदा मासिक २० देखि ३० युनिट बिजुली मात्रै खर्च हुने र धुवाँरहित हुने बताइएको छ । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्दा तीन वर्ष निःशुल्क सर्भिस दिने नगरपालिकाले जनाएको छ । 

कोरियन प्रविधिको प्रयोग गरिने
फोहोरलाई प्रशोधन गर्ने मेसिन सञ्चालनका निम्ति प्राविधिकले फिल्डमै सहयोग गर्ने र नगरपालिकाका कर्मचारीलाई सबै काम हस्तान्तरण गर्नेछन् । दैनिक एक टन प्लास्टिकजन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक तीन टनसम्मको फोहोर जलाउने मेसिन एक करोड १७ लाख रुपैयाँसम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् । ०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म खुदुर्के क्षेत्रमा फोहोर फाल्दै आएको थियो।  अहिले उक्त फोहोरको डंगुर पनि खाली गराइएको हो । 

पुरानो फोहोर व्यवस्थापन, माटो राखेर पार्क निर्माण गरिने 
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने र अन्य फोहोरको बढीमा तीन प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो । हाल थुपारिएको फोहोरमाथि माटो राखेपछि दुबो रोपेर हरियाली पार्क बनाउने योजना पनि नगरपालिकाको रहेको छ।

बागलुङ नगरपालिकाले डम्पिङसाइटको व्यवस्थापन गरेपछि कालीगण्डकी करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई दुर्गन्धले छुने छैन। केही समय पहिले दक्षिण बागलुङका नागरिक सदरमुकाम आउँदा डम्पिङसाइटनजिकै नाक थुन्नुपर्ने बाध्यता थियो, त्यो अहिले हटेको छ । यसका साथै खुदुर्केवासीलाई पनि फोहोरको झिँगाले सताउन छाडेको स्थानीय हरिबहादुर केसी बताउँछन् ।

अहिले दुर्गन्ध पनि कम भएको र झिँगा पनि कम लाग्न थालेकाले यसको अझै छिट्टै नै दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गरेको उनी बताउँछन्। नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापन गरेर यसलाई नमुना फोहोर संकलन केन्द्रको रूपमा विकास गर्ने योजना बनाएको छ ।
 

सुझावित समाचार