बेल्जियमविरुद्ध कप्तान एम्बाप्पेले मौका गुमाए

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

फर्ममा आउन संघर्षरत फ्रान्सका कप्तान तथा स्ट्राइकर केलियन एम्बाप्पेले बेल्जियमविरुद्धको महत्वपूर्ण प्रतिस्पर्धामा दुई सुन्दर अवसर फाले खेर 

फ्रान्सका कप्तान केलियन एम्बाप्पे सोमबार राति नेसन्स लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत बेल्जियमविरुद्ध सुरुवातमा बेन्चमा रहन बाध्य भए । प्रशिक्षक डिडिएर डेस्च्याम्सले गत शुक्रबार इटालीसँग ३–१ पराजित भएपछि प्रमुख खेलाडीलाई पहिलो हाफमा आराम दिएका हुन् । युरोपियन फुटबलकै बलियो राष्ट्र बेल्जियमसँगको प्रतिस्पर्धामा प्रशिक्षक डिडिएर जोखिम उठाए पनि फ्रान्स २–० ले विजयी भयो । फ्रान्सको जितमा कोलो मुआनीले खेलको २९औँ र ओस्मान डेम्बेलेले ५७औँ मिनेटमा गोल गरेका थिए । 

इटालीसँगको प्रतिस्पर्धामा एम्बाप्पेले पूरै ९० मिनेट प्रतिस्पर्धा गरेका थिए । तर, इटालीविरुद्धको खेलमा उनले प्रभावशाली प्रदर्शन गर्न नसकेपछि दोस्रो खेलमा अन्य स्ट्राइकरले सुरुमा मौका पाए । एम्बाप्पे सुरुको प्लेइनिङ ११ मा समावेश नभए पनि त्यसको प्रभाव खेलमा देखिएनन् । 

दोस्रो हाफमा एम्बाप्पेले मौका पाए । मध्यान्तरपछि मौका प्राप्त हुँदा पनि उनले सहज गोल गर्न सकेनन् । बेल्जियमका डिफेन्डरको गल्तीमा पनि उनले दुई सुन्दर गोल अवसर गुमाएका थिए । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका एम्बाप्पे फर्ममा आउन संघर्षरत छन् । उनले रियलमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । 

बेल्जियमले फ्रान्सविरुद्ध पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मिडफिल्ड बलियो भए पनि फिनिसिङ लाइन कमजोर देखिँदा बेल्जियमले पहिलो हाफमा अग्रताको अवसर गुमाएको थियो । यसविपरीत फ्रान्सले पहिलो हाफमा पाएको एक अवसरमा गोल ग¥यो । फ्रान्सका लागि कालो मुआमीले १–० को अग्रता गोल गरे । उनको यो फ्रान्सका लागि छैटौँ अन्तर्राष्ट्रिय गोल हो । 

इटाली लगातार दोस्रो खेलमा विजयी
लिगमा इटाली उत्कृष्ट फर्ममा छ । समूहकै उपाधि दाबेदार टोली फ्रान्सलाई पहिलो खेलमा हराएको इटालीले दोस्रो खेलमा इजरायललाई २–१ ले पाखा लगायो । सन् २०२४ को युरो च्याम्पियनसिपबाट इटाली प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो । इटालीको जितमा फ्रान्टेस्सीले खेलको ३८औँ र केइनले खेलको ६२औँ मिनेटमा गोल गरेका थिए । खेलको ९०औँ मिनेटमा आबु फानीले इजरायललाई २–१ को गोलअन्तरमा झारेका थिए । 
 

See More On

सुझावित समाचार