‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०८०’ को २१औँ संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरू ट्रेडिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।
यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड’को सहप्रायोजनका लागि मञ्चका महासचिव प्रज्वल ओली र कामरू ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कामरूका निर्देशक न्यौपानेले स्पोर्टस् अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए। कामरू ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो।
सह–प्रायोजक बनेबापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउनेछ। पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ। यसपालि वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा समान ५–५ खेलाडी–प्रशिक्षकको मनोनयन भइसकेको छ।
त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ। पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ।