पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार पाँच कारोबार दिनदेखि घटिरहेको छ। मंगलबार नेप्से १३.०९ अंकले घटेर दुई हजार ६ सय ३२.९४ को विन्दुमा कायम भएको छ।

आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता सेयर ९३ हजार चार सय ५९ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ बराबरको कारोबार भएको छ। आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो। आजको कारोबारमा ‘सेन्सेटिभ इन्डेक्स’ १.८० र ‘फ्लोट इन्डेक्स’ ०.९१ अंकले घटेको छ।

आज व्यापार समूह ०.७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.११, विकास बैंक ०.६९, वित्त ०.९९, जलविद्युत् ०.७१, लगानी ०.५३ र जीवन बिमा समूह ०.७६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.६८, लघुवित्त ०.९१, निर्जीवन बिमा ०.४० र अन्य समूह ०.४४ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ सबैभन्दा धेरै ८.८२ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर रु. २९ करोड ८१ लाख ५४ हजारबराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ।

सुझावित समाचार