३३ वर्षअघि दोषी ठहर भएका लुम्बिनीका सांसद केसी जेल चलान

सोमबार, २४ भदौ, २०८१
डिजिटल संस्करण

 किर्ते मुद्दामा दोषी ठहर भएका लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुम पूर्वको प्रदेश सभा (२) बाट निर्वाचित केसीलाई ३३ वर्षअघि नै जिल्ला अदालत रुकुमले किर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, उनी फरार थिए । फरार सूचीकै अवस्थामा ०७९ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए । 

अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेश सभा सदस्य भएको भन्दै आलोचना भएपछि केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । लगत्तै हिरासतमा लिएर कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।

 श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको भन्दै ९ असार ०४८ मा अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए । तैपनि उनले लामो समयसम्म कैद भुक्तान गरेका थिएनन् । 

कैद भुक्तान नभएपछि ३१ वैशाख ०७५ मा मा रुकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध ०४८ को फैसलाअनुसार कारबाही नभएको भन्दै रुकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो । उनी कारागार चलान भएको पत्र आएसँगै लुम्बिनी प्रदेश सभाले पनि निलम्बन गर्ने प्रदेश सभा सचिवालय स्रोतले बताएको छ ।

सुझावित समाचार