जलन प्राथमिक केन्द्र स्थापनार्थ भेट्रान्स फुटबल

आइतबार, २३ भदौ, २०८१
डिजिटल संस्करण

जलन प्राथमिक केन्द्र स्थापनाको उदेश्यले २४ भदौ सोमबारबाट हेटौँडामा तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक रोटरी क्लव अफ मकवानपुरले जानकारी दिएको छ। प्रतियोगितामा १५ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगिाको सोमबार हुने उद्घाटनमा साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौँडाबिच खेल हुने अध्यक्ष अनिल अग्रवालले जानकारी दिए ।

२०७२ र ०७३ सालमा आयोजना भएको प्रतियोगितालाई रोटरीले लामो समयपछि पुनः निरन्तरता दिन लागेको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष अग्रवालले बताए । उनले प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य जलन प्राथमिकता केन्द्र स्थापना गर्नु रहेको जानकारी दिए ।
‘प्रतियोगिता सञ्चालनबाट बचत भएको रकमलाई विउ पुँजिको रुपमा प्रयोग गर्दै हेटौँडामा एउटा जलन प्राथमिक केन्द्र स्थापना गर्ने उद्देश्य लिएका छौ,’ उनले भने । शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा कार्य गर्दै आएको उनले बताए ।

हेटौँडा ५ मा रहेको पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितालाई यस वर्षदेखि निरन्तरता दिँदै जाने लक्ष्य रहेको खेल संयोजक मोहन ढकालले बताए । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हुन लागेको प्रतियोगितामा पिप्ले युवा क्लव सहआयोजक र रोट¥याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहनेछ ।

सुझावित समाचार