जनताले गरेको त्यागको समुचित मूल्यांकन भएन : प्रचण्ड

आइतबार, २३ भदौ, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता जनताको अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए।

‘हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समुचित मूल्यांकन भएन । देश र जनता हितका खातिर संकल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’ 

सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको उनले बताए ।

सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रूपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिँगाे पार्टीपंक्तिमा बलिदानीभाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए । रासस
 
 

See More On

सुझावित समाचार