एक करोड लगानीका पाँच कृषि हाटबजार प्रयोगविहीन

शनिबार, २२ भदौ, २०८१
डिजिटल संस्करण

उपभोक्ता समितिमार्फत बनाइएका संरचना बस्तीबाट टाढा रहेकाले सञ्चालनमा आउन नसकेको प्रदेश लेखा समितिको स्थलगत अध्ययनको निष्कर्ष

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा निर्माण गरिएका पाँचवटा कृषि हाटबजार पाँच वर्षदेखि प्रयोगविहीन छन् । करिब एक करोड लागतमा धनगढी उपमहानगर, गौरीगंगा, घोडाघोडी र लम्की–चुहा नगरपालिका तथा बर्दगोरिया गाउँपालिकामा निर्मित हाटबजार प्रयोगमै नआई जीर्ण बन्न थालेका हुन् । 

उपभोक्ता समितिमार्फत धनगढी– १८, फूलबारी ‘एफ’ गाउँमा १३ लाख ४८ हजार, गौरीगंगा– ९ मा १४ लाख २४ हजार, घोडाघोडी– १, लोहरपुरमा ४६ लाख ५४ हजार, लम्की–चुहा– ८, गोप्कामा १४ लाख २२ हजार र बर्दगोरिया– ५ मा नौ लाख २९ हजार गरी कुल ९७ लाख ७७ हजार रुपैयाँ खर्चेर हाटबजारका लागि टहरा बनाइएको थियो । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञानकेन्द्र कञ्चनपुरले आर्थिक वर्ष ०७६/७७ मा कैलालीमा ६ कृषि हाटबजार निर्माण गरेकामा टीकापुरको भने चलिरहेको छ । ज्ञानकेन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरूले हाटबजारका संरचना बनाएर स्थानीय तहलाई हस्तान्तरण गरिसकेकाले हालको अवस्थाबारे जानकारी नभएको बताए । ‘कृषि ज्ञानकेन्द्रले ती हाटबजार हेर्दैन, त्यतिवेलै बनाएर हस्तान्तरण भएकाले सञ्चालनको अवस्थाबारे हामीलाई जानकारी भएन,’ उनले भने ।

बस्ती र बजारभन्दा टाढा हुँदा चलेनन् हाटबजार
बस्ती र बजारभन्दा टाढा बनाउँदा हाटबजार चल्न नसकेको निष्कर्ष प्रदेश सभाको सार्वजनिक लेखा समितिले निकालेको छ । समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले भने, ‘संरचना बनाउँदा आवश्यकता र पायक पर्ने ठाउँ हेरिएको रहेनछ । अपायक ठाउँमा बनाइएकाले पनि अधिकांश हाटबजार सञ्चालनमा आउन नसकेको देखियो ।’ राज्यको लगानीको सदुपयोग हुन नसकेकाले संरचना प्रयोगमा ल्याउन स्थानीय तहले ध्यान दिनुपर्ने उनले बताए । 

प्रदेश सरकारले घोडाघोडी– १, लोहरपुरमा ४६ लाख ५४ हजार खर्चेर कृषि हाटबजार बनायो । तर, यहाँको मुख्य बजार सुखड हो । सुखडस्थित शिवशक्ति सामुदायिक वनको छेउमा अस्थायी हाटबजार सञ्चालन हुँदै आएको छ । वडाध्यक्ष घनश्याम चौधरीले पनि पायक पर्ने ठाउँमा नभएकाले संरचना बनाएको ठाउँमा हाटबजार सञ्चालनमा आउन नसकेको बताए । तर, उक्त संरचनालाई कृषिउपज संकलन केन्द्रका रूपमा प्रयोग गर्ने तयारी भइरहेको उनले बताए । संकलन केन्द्र बनाउनका लागि हाटबजारको जग्गाको पुर्जा पालिकाको नाममा ल्याउने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

लम्कीको गोप्कामा पनि निर्माण भएदेखि नै हाटबजार चलेको छैन । हाटबजारका लागि निर्मित संरचनानजिक खुला ठाउँमा हाटबजार सञ्चालन हुने गरेको स्थानीय दिलराज गौतमले बताए । 

त्यस्तै, धनगढीको फूलबारी ‘एफ’ गाउँका गणेश विकले फूलबारीमा हाटबजार सञ्चालन नहुँदा किसानले घर–घरमा गएर तरकारी बिक्री गर्ने गरेको बताए । विकका अनुसार कतिपय किसान धनगढी गएर तरकारी बेच्छन् । वडासदस्य देवबहादुर विकले सुरुमा हाटबजार सञ्चालनको प्रयास गरिए पनि किसानको सहभागिता कम हुँदा चल्न नसकेको बताए । ‘किसान नआएपछि हाटबजार चल्न सकेन, अहिले फेरि चलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘किसान गाउँघर डुलेर तरकारी बेच्छन्, कोही धनगढीसम्म पुर्याउँछन् ।’

सुझावित समाचार