एनजिओको खाजाले बिथोलिएको संघीय निजामती विधेयकमा छलफल सुरु, दलीय ट्रेड युनियन हटाउन एकमत, १५८३ संशोधन

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

प्रशासनिक संघीयता कार्यान्वयनको कानुनी आधारको रूपमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संसदीय समितिले छलफल सुरु गरेको छ । २ असारमा समितिले छलफल अगाडि बढाउन खोज्दा एनजिओको खाजाले बिथोलिएकोमा दुई महिनापछि बिहीबार समितिले विधेयकमा छलफल पुनः सुरु गरेको हो । 

समिति सभापति रामहरि खतिवडाका अनुसार अहिले विधेयकमा १४० भन्दा बढी सांसदले १५८३ संशोधन राखेका छन् । सैद्धान्तिक छलफलपछि संशोधनकर्तालाई बोलाउने तयारी समितिको छ । २१ फागुन ०८० मा प्रतिनिधिसभामा दर्ता भएको विधेयक १५ जेठ ०८१ मा राज्य व्यवस्था तथा सुशासन समितिमा आएको थियो । विधेयकमा प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा राज्य व्यवस्था समितिकै ६१ वटा बैठकमा छलफल भएको थियो । पछि सरकारले विधेयक फिर्ता लिएको थियो । 

बिहीबार विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले कर्मचारीतन्त्रमा रहेका दलगत ट्रेड युनियनहरू हटाउनुपर्ने धारणा राखेका छन् । दलीय ट्रेड युनियन हटाउन सबै दलका सांसद एकमत देखिएका छन् । सांसदहरूले कर्मचारीतन्त्र बलियो बनाउन र सेवा प्रभावकारी बनाउन जथाभावी सरुवा नियन्त्रण गर्नुपर्ने र सरुवालाई अनुमानयोग्य प्रणालीमा विकास गर्नुपर्नेमा पनि जोड दिएका छन् । कांग्रेस सांसद सरिता प्रसाईंले ट्रेड युनियनलाई व्यवस्थित गर्नुपर्ने बताइन् । ‘दलपिच्छे ट्रेड युनियन छन् । गला थिचेको ट्रेड युनियनलाई के गर्ने हो गरौँ,’ उनले भनिन् । 

एमालेका रघुजी पन्तले दलीयकरणले कर्मचारीतन्त्र थिलथिलो बनाएको भन्दै एउटै ट्रेड युनियन बनाउनुपर्ने धारणा राखे । ‘ट्रेड युनियन नराख्ने भन्ने होइन । तर, एउटै राखौँ । यो मेरो व्यक्तिगत विचार हो । यसमा तीनवटा प्रमुख पार्टी एक ठाउँमा आए टुंगिन्छ । नभए यहाँ टाउको फोडाफोड गरेर हुँदैन । त्यसैले राजनीतिक सहमति जरुरी छ । यसमा मन्त्रीले पनि भूमिका खेल्नुपर्छ,’ उनले भने । प्रशासनिक अराजकता र विवाद पनि समाधान हुने गरी राजनीतिक तहमा छिनोफानो गर्नुपर्ने उनको भनाइ थियो । एमालेकै वासुदेव घिमिरेले पनि दलैपिच्छेका ट्रेड युनियन आवश्यक नभएको बताए । माओवादीकी दुर्गा राईले सेवाग्राहीको हितमा ऐन बन्नुपर्ने बताइन् । ‘कसैलाई मर्का पर्नेभन्दा सबैको हितमा होस्,’ उनले भनिन् । 

रास्वपाकी चन्दा कार्की भण्डारीले ट्रेड युनियन संवैधानिक अधिकार भए पनि दलीयकरणले कर्मचारीतन्त्र कमजोर भएको र काम नगरी तलबभत्ता खाने प्रवृत्ति मौलाउँदै गएको बताइन् । ‘ट्रेड युनियन संवैधानिक अधिकार हो । तर, ट्रेड युनियनमा रहेकाले काम गर्नुपर्छ, एउटै साझा हुनुपर्छ,’ उनले भनिन् । राप्रपाका बुद्धिमान तामाङले पनि आधिकारिक ट्रेड युनियन भए पुग्ने बताए । ‘एउटा आधिकारिक चाहिन्छ । दलपिच्छे चाहिँदैन,’ उनले भने ।

जसपाका अशोक राईले ट्रेड युनियनलाई पार्टीगत रूपमा लान नहुने बताए । ‘कर्मचारीतन्त्र पार्टीगत हुनुहुँदैन । वैचारिक आस्था एउटा होला । तर, दलको भ्रातृ संगठनका रूपमा लाने रोक्नुपर्छ । यसले धेरै कार्यक्षमता, कार्यशैलीमा क्षति पुर्‍याएको छ । अब ऐनबाट सुधार गर्नुपर्छ,’ उनले भने । राईले सरुवालाई अनुमानयोग्य सिस्टममा लिएर जानुपर्ने र कर्मचारीतन्त्रलाई वफादार तथा निष्पक्ष काम गर्ने संयन्त्र बनाउनुपर्ने धारणा राखे । 

जसपाकै प्रकाश अधिकारीले राजनीतिक संरक्षणमा ट्रेड युनियनलाई छुट दिन नमिल्ने जिकिर गरे । ‘हकहितका लागि एउटा साझा ट्रेड युनियन भए हुन्छ । यसकै आधारमा पनि काम नगर्ने कर्मचारीलाई छुट दिन मिल्दैन । काम नगर्ने, तलब खाने विसंगति हटाउनुपर्छ,’ उनले भने । 

एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले प्रशासनिक संघीयता कार्यान्वयन गर्न दलहरू उदार नभएको टिप्पणी गरे । प्रदेशलाई प्रशासनिक अधिकार नदिएर औचित्यमाथि प्रश्न उठाउने ठाउँ दलहरूले नै दिएको उनको भनाइ थियो । संघीय ऐन नबन्दा प्रदेशमा कर्मचारीको समस्या विकराल रहेको र त्यसको असर सेवाप्रवाहमा परेको उनले सुनाए । ‘संघीयतालाई सबैभन्दा बढी ध्यान पुर्‍याउने गरी विधेयक अगाडि बढ्नुपर्छ,’ उनले भने । 

जनमोर्चाका चित्रबहादुर केसीले संघात्मक नाम राखेर एकात्मक अभ्यास गर्ने प्रणाली र व्यवहारप्रति विश्वास नभएको बताए । उनले अधिकार नदिई संघीयताको नाममा देशलाई घर न घाटको नबनाउन अपिल गरे । सरुवा–बढुवामा पनि अन्योल र ढुलमुले अव्यावहारिक अवस्थाले जनताले दुःख पाएको भन्दै कार्यान्वयन हुने गरी ऐन बनाउनुपर्ने धारणा राखे ।

कांग्रेसका हृदयराम थानीले कर्मचारीतन्त्रलाई व्यावहारिक रूपमै राजनीतिक रूपमा तटस्थ बनाउनुपर्ने बताए । एमालेका कृष्णगोपाल श्रेष्ठले कर्मचारीतन्त्र अत्यन्तै अनुशासित बनाउनुपर्ने र त्यो हुनेबित्तिकै सुशासनमा प्रभाव पर्ने बताए । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्राथमिकताका साथ विधेयक अगाडि बढाउन अनुरोध गरे । ‘यो विधेयक यही हिसाबले छलफलमा लग्यो भने एक–दुई वर्ष लाग्न सक्छ । हामी उच्च राजनीतिक तहमा छलफल गर्छौँ । छलफलबाट अगाडि बढ्छौँ । समितिले यसलाई प्राथमिकतामा राखेर अगाडि बढाइदिनुस्,’ उनले भने । समिति सभापति खतिवडाले सबै पक्षसँग छलफल गरेर छिटो टुंग्याउने नै समितिको सोचाइ रहेको प्रतिबद्धता जनाए । 

मुख्यसचिव एकनारायण अर्यालले समितिमा भने– उत्तरदायी र जवाफदेही कानुन बनोस्

समितिमा उपस्थित सरकारका मुख्यसचिव एकनारायण अर्यालले ऐन नहुँदा सेवाप्रवाहमै असर परिरहेको भन्दै निजामती विधेयक छिटो अगाडि बढाउन अनुरोध गरे । ‘सरकारले मात्र होइन, विधायिकाले पनि ढिलो भएको महसुस गरेकाले छिटो आउने विश्वास छ,’ उनले भने । समयमा संघीय निजामती ऐन नबन्दा कमर्चारीतन्त्रको वृत्ति विकासमा प्रभाव परेको, प्रशासनिक संघीयतामा जान नसकेको र यसले सेवाप्रवाहमा असर गरेको बताए । ‘ऐन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन सकेन । कर्मचारी खटाउन आपत परेको छ । केही कर्मचारीको पेन्सनपट्टा नै रोकिएको छ । यसरी डिमोटिभ कर्मचारीतन्त्रले सेवाप्रवाहमा असर परेको छ,’ उनले भने, ‘कर्मचारीतन्त्र बलियो नहुँदा संघीयता बलियो भएन, विकास निर्माणमा असर पर्‍यो । प्रशासनिक संघीयता बलियो बनाएर सेवाप्रवाह प्रभावकारी बनाउने हिसाबले ऐन आउनुपर्छ । यो कानुन सेवामैत्री हुनुपर्छ । उत्तरदायी र जवाफदेही कानुन बनोस् ।’

सुझावित समाचार