काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा भारी वृद्धि गरेको भन्दै जनप्रतिनिधिहरूले नै विरोध जनाएका छन्। सोमबार बसेको महानगरको ३५औँ नगर कार्यपालिका बैठकमा उपमेयरसहित वडाध्यक्षहरूले सम्पत्ति कर वृद्धिको विरोध गरेका हुन्।
०८१-८२ को नीति तथा कार्यक्रमबाट करको दर बढाउने निर्णय गरेको र कतिपय शीर्षकमा दुईतिहाइसम्म कर बढाएको भन्दै विरोध भएको हो। काठमाडौं महानगरपालिका –३१ का वडाध्यक्ष सरोज ढकालले बैठकमा महानगरले ढाड नै सेक्ने गरी सम्पत्ति कर बढाएको र यसलाई पुरानै दरमा कायम गर्नुपर्ने बताए। ‘काठमाडौं महानगरमा सम्पत्ति करमा जग्गाको भ्यालुएसन बढेको छ, त्यस्तै सम्पति करको मूल्य डाढ सेक्ने गरी बढेको छ,’ उनले भने, ‘पुरानै दरमा तिर्ने गरी कायम होस् भनी प्रस्ताव गर्न चाहन्छु।’
राजस्व विभागका विभागीय प्रमुख दीपक अधिकारीले दररेट बढाइएको, तर त्यसमा सूचना गलत पर्न गएको बताए। ‘दररेट बढाइएको होइन, मालपोत कार्यालयको दररेट आधार मान्दा त्यस्तो हुन पुगेको हो,’ उनले भने, ‘भित्री गल्ली क्षेत्रको करको दर घटेको छ भने ठुला सडक तथा बाहिरी क्षेत्रको केही बढेको छ।’ उनका अनुसार सबैजसो वस्तुमा दररेटको विषयमा हालको बजार मूल्यअनुसारको भएको दाबी गरे।