राक्सिराङमा न्वागीका अवसरमा दुई दिन सार्वजनिक बिदा

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिकाले छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्य रहेको रक्सिराङमा उनीहरूको मुख्य पर्व न्वागीको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

पालिकाले न्वागीको अवसरमा भदौ २१ शुक्रबार र २२ शनिबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामार्फत सर्वाजनिक बिदाबारे जानकारी गराइएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिए। सूचनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अंगको रूपमा प्रकृतिपूजक अति सीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम)को अवसरमा यही मिति २०८१ भदाै २१ गते र २२ गते २ (दुई) दिन राक्सिराङ गाउँपालिकाभर स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ।

गाउँपालिका अध्यक्ष मल्लले सूचनामार्फत चेपाङ समुदायको महत्त्वपूर्ण पर्वको अवसरमा सम्पूर्ण राक्सिराङवासी तथा देश–विदेशमा रहेका चेपाङ समुदायमा सुख, शान्ति, समृद्धिको कामनासमेत गरेका छन् ।

सुझावित समाचार