नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइस विधामा क्रिकेटर गुल्सन झा दाबेदार खेलाडी हुन् । गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीमा गुल्सनले प्रभावशाली प्रदर्शन गरेका थिए । उनको एक म्याच विनिङ खेलले नेपाल एसिसी एसिया कपमा छनोट भएको थियो । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान दिएका उनले सम्भवतः अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको प्रतियोगितामा एक खेल कहिल्यै बिर्सन सक्दैनन् ।
विश्वकपको समूह चरणमा नेपालले टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध जितको एकदम नजिक पुगेको थियो । दक्षिण अफ्रिकालाई स्तब्ध पार्न अन्तिम बलमा केवल दुई रन मात्र आवश्यक थियो । गुल्सनले अन्तिम बलमा विजयका लागि आवश्यक रन जोड्न दौडिएका उनी रन आउट भए । टी–२० विश्वकपमा १८ वर्षको उमेरमा खेलेर चर्चामा रहेका उनी घरेलु क्रिकेट नेपाल पुलिस क्लबबाट खेल्छन् ।
नेपालको क्रिकेटमा गुल्सन सधैँ चर्चामा रहने गर्दछन् । उनको एउटा इनिङ्सले नेपाल एसिया कपमा छनोट भएको थियो । गत वर्ष एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता विश्वका शक्तिशाली क्रिकेट राष्ट्रसँग खेल्ने सपना पूरा गरेको थियो । मञ्चले २८ भदौमा प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्डको २१औँ संस्करणका लागि पिपल्स च्वाइस विधामा गुल्सनले फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन् ।
युएईविरुद्ध सानदार इनिङ्स
पिपल्स च्वाइस अवार्डको विजेताले पल्सरको एनएस ४०० सिरिज मोटरसाइकल पाउनेछन् । गोल्छा ग्रुपले एनएस ४०० सिरिज बाइक स्पोर्टस् अवार्डको प्रमोसनलकै दौरान लञ्च गरेको थियो । नेपाली सिनियर क्रिकेटका विशेषज्ञ स्तरीय अलराउन्डर गुल्सन ब्याटिङमा ‘बिग म्याच’का खेलाडी हुन् । गत वर्ष त्रिवि क्रिकेट मैदानमा युएईसँग एसिसी प्रिमियर कपको फाइनल खेल्दै थियो ।
नेपालले युएईलाई एक सय १७ रनमा अलआउट गर्यो । प्रत्युत्तरमा ब्याटिङ गरेको नेपालले आठ ओभरमा २२ रन बनाउँदा तीन विकेट गुमायो । तेस्रो नम्बरमा ब्याटिङ गरेका गुल्सनले युएईविरुद्ध अविजित ६७ रन बनाउने क्रममा ८४ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । उनले भीम सार्कीसँग अविजित ९६ रन गरेपछि नेपाल एसिया कपमा पुगेको थियो ।
टी–२० र एकदिवसीयमा प्रभावशाली प्रदर्शन
गुल्सनले २५ बलमा पाँच चौका र ४ छक्का प्रहार गर्दै ५४ रन बनाएपछि नेपालले ओमानलाई १ सय ८४ रनको लक्ष्य दियो । तर, सुपर ओभरमा नेपाल ओमानसँग पराजित भएको थियो । गत वर्ष गुल्सनले १७ एकदिवसीय अन्तर्राष्ट्रियमा ३ सय ३७ रन र बलिङमा १० विकेट लिएका थिए । एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध हरारेमा ५२ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ थियो । गत वर्ष अन्तर्राष्ट्रिय टी–२० को २५ खेलमा उनले ३ सय ४९ रन र १० विकेट लिएका थिए ।