नदीको किनारमा शमीको एक विशाल रुख थियो । उसका जरा निकै भित्रभित्र र टाढाटाढासम्म फैलिएका थिए । त्यसैले, उसमा आफूलाई कसैले पनि उखेल्न नसक्ने घमन्ड थियो । उसको नजिकै बेतको झाडी पनि थियो । एक दिन नदीमा भयानक बाढी आयो । शमीको रुखलाई आफ्नो शक्तिमाथि घमन्ड थियो । मेरा जरा निकै भित्रसम्म गढेका छन् । त्यसैले, बाढीले मलाई केही गर्न सक्दैन भन्ने उसलाई विश्वास थियो ।
नदीमा बाढीको प्रवाह बढ्दै गयो । पानीको धारले जमिनको माटो काट्न सुरु गर्यो । नदीको प्रत्येक लहरले शमीको जराले समातेको माटो अलिअलि गरेर काटिरह्यो । हेर्दाहेर्दै शमीको रुख गल्र्यामगुर्लुम ढल्यो । अर्को दिन हेर्दा नदीको लहर त शान्त भइसकेको थियो । तर, शमीको रुख भने नदीकिनारमा असहाय भई सुतेको थियो । उता बेतको झाडी भने जस्ताको तस्तै थियो । किनकि, जब नदीमा बाढी आयो, त्यतिखेर बेत पानीको गति र प्रवाहसँगै जमिनमा झुकेर सुतिदियो । पानी उसैको माथिबाट बगेर गयो । जब पानीको बहाव कम भयो, तब ऊ उठेर पूर्ववत् अवस्थामा फर्कियो । तर, उसको छिमेकी शमीको रुख भने कहिल्यै नउठ्ने गरी ढलिसकेको थियो ।
यी दुईको अवस्था देख्नेहरू भनिरहेका थिए– हेर त साथी हो ! यो अहंकारी र अदूरदर्शी शमीको रुखको गति । यसले समयको गति चिन्न सकेन र आज यसको यो हविगत भयो । उता बेतको अवस्था हेर त, यिनीहरू विनम्र भएर झुक्छन् । कसैसित अनावश्यक टक्कर लिँदैनन् । तालमेल मिलाएर बस्छन् र संकटमा आफूलाई जोगाउँछन् । आखिर विनम्रताको परिणामस्वरूप नै यिनीहरू पहिलेकै जस्तो अवस्थामा छन् ।