दिगो आर्यआर्जनका लागि हेटौँडा उपमहानगरपालिकाको सहयोगमा घरमै बसेर रोजगारी सिर्जना गरिरहेका महिलाले उत्पादन गरेको विभिन्न सामग्रीको सोमबार प्रदर्शन गरिएको छ ।
महिलाहरूको चाड हरितालिका तिजको अवसर पारेर महिलाले उत्पादन गरेको सामग्रीलाई प्रदर्शनीमा राखिएको हो । हेटौँडा– ४ स्थित रोयल पार्टी प्यालेसमा सुरु भएको स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापार मेलाको उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी छिन् ।
प्रदर्शनीको उद्घाटन गर्दै मेयर लामाले महिलाले दिगो आर्यआर्जनमा जोडिएर आर्थिक रूपमा मजबुत हुन सुझाव दिइन्। उनले आर्थिक रूपमा कमजोर हुँदा महिलाले विभिन्न हिंसा सहनुपरेको स्मरण गराउँदै आम्दानीको स्राेत पहिचान गरे त्यसमा उपमहानरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी भएका उपमेयर राजेश बानियाँले महिलाका लागि फलदायी हुने कुनै पनि दिगो आयआर्जनका काममा उपमहानगरपालिका सहयोग गर्न हरदम तत्पर रहेको उल्लेख गर्दै राम्रा र प्रभावकारी योजना लिएर उपमहानगरपालिका आउन आग्रह गरे ।
हेटौँडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था नगर समन्वय समिति र जाल्पादेवी महिला उद्यमी केन्द्रको आयोजनामा भएको प्रदर्शनीमा आयआर्जका लागि काम गरिरहेका १५ समूहले उत्पादन गरेका विभिन्न सामग्री २५ वटा स्टलमा प्रदर्शनीमा राखिएको थियो ।
जाल्पादेवी महिला केन्द्रका अध्यक्ष गीता कडरिया मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी हेटौँडा– १० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ, हेटाैँडा– १५ का अध्यक्ष सुनील मोक्तान, नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीलगायतले महिलालाई दिगो आयआर्जनमा जोडेर नगरको विकासमा टेवा पुर्याउन सकिने बताएका थिए ।