प्रधानमन्त्री ओली र प्रकाश तामाङबिच भेट

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले ‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अंक ‘हराएका वर्षहरू’का मुख्य पात्र प्रकाश तामाङलाई भेटेका छन् ।  ‘हेर्ने कथा’मा प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्ने वाचा गरेका थिए । प्रधानमन्त्रीले भनेका थिए, ‘एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु।’ 

प्रधानमन्त्रीको चाहनाअनुसार नै प्रकाश नागरिकता बनाएर सोमबार साँझ प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् । प्रकाशको नागरिकता बनेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘नागरिकता बनेपछि उहाँलाई अरू कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो।’

प्रकाशलाई आवश्यक सहयोगका लागि तत्काल नेपाली नागरिकताको आवश्यक भएको प्रधानमन्त्रीले यसअघि नै बताइसकेका थिए । नागरिकता बनाउनेबारे गृहसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले छलफलसमेत गरेका थिए ।

प्रकाशलाई घरमै नागरिकता

‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अंक ‘हराएका वर्षहरू’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षहरूका पात्र प्रकाश तामाङबारे प्रशस्त टीका–टिप्पणी भए ।

३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौं आउँदा हराएका उनी गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा थिए । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उनको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो ।

गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि भोजपुरवासीले पहल थालेका थिए । भोजपुर षडानन्द नगरपालिका– १० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको छ ।  

नागरिकता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंसहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको हो ।

सुझावित समाचार