युएस ओपनबाट बाहिरिन् साबिक विजेता गफ

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

१३औँ वरीयताकी अमेरिकन खेलाडी इमाना नाभारोले साबिक विजेता कोको गफलाई २–१ को सेटमा बनाइन् स्तब्ध

वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगितामा एकपछि स्तब्ध नतिजा आइरहेको छ । सोमबार बिहान महिलातर्फकी साबिक विजेता कोको गफ चौथो चरणबाट बाहिरिएकी छिन् । हारसँगै उनको उपाधि रक्षा गर्ने सपना तुहिएको छ । न्युयोर्कको अथुर रंगशालामा इमाना नाभारोले गफलाई ६–३, ४–६ र ६–३ को कठिन सेटमा स्तब्ध पारेकी हुन् ।

यसअघि पुरुषतर्फ साबिक विजेता नोभाक जोकोभिक तथा पूर्वविजेता कार्लोस अल्काराज तेस्रो चरणसम्म पुग्न सकेनन् । महिलातर्फ जापानकी पूर्वविजेता ओसाका पनि तेस्रो चरणअगाडि बाहिरिएकी थिइन् । उपाधि दाबेदार खेलाडी बाहिरिने क्रममा गफ चौथो खेलाडी बनेकी छिन् । १३औँ वरीयताकी नाभारोले पहिलो तथा तेस्रो सेटमा महत्वपूर्ण ब्रेक अंक निकालेकी थिइन् । उपाधि रक्षा गर्ने अभियानमा रहेकी गफले समग्रमा १९ डबल्स फल्ट गरेकी थिइन् । यसमध्ये उनले निर्णायक तेस्रो सेटमा ११ पटक दोहोरो गल्ति गर्न पुगिन् । 

नारोभाले तेस्रो सेटमा विपक्षीले निरन्तर रूपमा गल्तीको फाइदा लिइन् । उनले आफूलाई नियन्त्रणमा राख्दै तेस्रो सेटको नवौँ गेममा विजयी अंक बटुल्न सफल भइन् । उनी लगातार दुई संस्करणको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । यसपटक उच्च फर्ममा रहेकी उनले शीर्ष खेलाडीलाई पाखा लगाएकी छिन् । ‘यहाँ म लगातार दुई वर्ष पहिलो चरणबाटै घर फर्केकी थिएँ । अब म युएस ओपनको क्वार्टरफाइनलमा पुगेकी छु,’ नाभारोले भनिन्, ‘यो सहर जहाँ म जन्मिएँ र हुर्किएँ पनि । घरेलु दर्शकअगाडि खेल्दा मलाई सधैँ रमाइलो लाग्छ ।’ 

विम्बल्डनको बदला
दुई महिनाअघि लन्डनको घाँसेकोटमा खेलिने विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा गफले नाभारोलाई नै सहजै पाखा लगाएकी थिइन् । हाड कोर्टमा प्रतिस्पर्धा हुने युएस ओपनमा नाभारो फरक रूपमा प्रस्तुत भइन् । गफले युएस ओपनको चौथो चरणमा आफ्नै गल्तीका कारण पराजित भएको बताएकी छिन् । ‘दुई महिनाअगाडि र अहिलेको नाभारोको प्रदर्शन निकै फरक पाएँ,’ गफले भनिन्, ‘म पराजित हुनुको एउटै मात्र कारण थियो, अनावश्यक गल्ती निरन्तरता गरिरहेँ ।’ 

गफले लगातारको गल्तीले खेल नियन्त्रण भन्दाबाहिर गएको बताइन् । ‘ब्याक टु ब्याक मैले गल्ती गरिरहेँ । यसको फाइदा विपक्षी खेलाडीले लिए । विशेषतः तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन हुनुपर्ने थियो, तर यसै सेटमा मैले अकल्पनीय गल्तीहरू गरेँ,’ गफले विश्लेषण गरिन् ‘नाभारो मेरो गल्तीमै क्वार्टरफाइनल पुगेको हो ।’ अब क्वार्टरफाइनल प्रवेशको खेलमा नाभारोले २६औँ वरीयताकी पाउला बाडोसाविरुद्ध खेल्नेछिन् । स्पेनिस खेलाडी पाउलाले चिनिया खेलाडी वाङ याफनलाई ६–१ र ६–२ हराएकी थिइन् । 

गफलाई हराएपछि नाभारो महिला एटिपी वरीयताको शीर्ष १० भित्र समावेश भएकी छिन् । सन् २०२३ मा उनी पहिलोपटक डब्लुटिए टेनिसको फाइनलमा पुगेकी थिइन् । यस वर्ष उनी फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुगेकी नाभारोले इन्डियन्स वेल्समा दुई नम्बर खेलाडी अर्याना सावेलनालाई स्तब्ध पारेकी थिइन् । 

See More On

सुझावित समाचार