धनकुटाको सिँधुवा बजारमा सिँधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ। छथर जोरपाटी गाउँपालिका– ६ स्थित सिँधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानको राजदूतावास मिसन उपप्रमुख ताकाहिरो तामुरा र गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
उक्त पुस्तकालय जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण भएको हो। जापान सरकारको तीनवर्षे आयोजनाअन्तर्गत नेपालस्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको जनाइएको छ।
जापान सरकारको एक करोड ६२ लाख, छथर जोरपाटी गाउँपालिकाको ५० लाख र स्थानीयवासीको ३० हजार रुपैयाँ गरी कुल दुई करोड १२ लाख ३० हजारमा पुस्तकालय निर्माण भएको हो। समुदायको मागमा आधारित भएर नागरिकको बौैद्धिक विकासलाई ध्यानमा राखेर पुस्तकालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए।
दुई कार्यक्रम हलसहित बनेको उक्त नाैकोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहुप्राविधिक, आइसिटी, पुस्तकालय र जोखिम न्यूनीकरण कक्षका साथै अपांगतामैत्री कक्षासमेत छन्। पुस्तकालयमा तीन हजारभन्दा बढी पुस्तक रहेका छन्।