मकवानपुर फुटबल लिगः न्यू कम्बाइन र नामटार विजयी

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

न्यू कम्बाइन र कैलाशको एफसी नामटारले हेटौँडामा जारी मकवानपुर लिगमा विजय सुरुवात गरेका छन्। आइतबार दिउँसो भएको खेलमा प्रतिद्वन्दी टिममाथि जित निकाल्दै कम्बाइन र नामटारले विजय सुरुवात गरेका हुन्।

कम्बाइनले हेटौँडाकै ७ नम्बर फुटबल टिमलाई ३–० ले हराउँदा नामटारले साबिक उपविजेता टोली हटिया स्पोर्टस्लाई २–१ को जित निकालेको हो। कम्बाइनको जितका लागि सुरज थिङले २ र विशाल भ्लोनले एक गोल गरे।

यस्तै, नामटारका तर्फबाट सबिन भ्लोन र सञ्जीव भोम्जनले गोल गर्दै टिमलाई जित दिलाए। हटियाका लागि सुरज मोक्तानले गोल गरे पनि आफ्नो टिमलाई हारबाट जोगाउन पर्याप्त हुन सेकेन।

जारी प्रतियोगितामा आइतबारका दुई खेल भने वर्षाका कारण स्थगित भएका छन्। यसअघि शनिबार पनि एउटा खेल वर्षाका कारण स्थगित भएको थियो। शनिबार, स्थगित भएको खेल आइतबार खेलाउने तयारी भए पनि वर्षाका कारण पुनः स्थगित भएको छ।

यस्तै, आइतबार पिप्ले युवा क्लब र रियल स्टार क्लब पदमपोखरी तथा एफसी मल्टिभिजन र पदमपोखरी युथ क्लबबिचको खेल स्थगित भएको प्रतियोगिता संयोजक एवं मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए। 

दुवै खेल आइबार दिउँसो एक बजेबाट गौरीटार रंगशाला र सिमलटार खेल मैदानमा गर्ने तयारी भए पनि भारी वर्षााका कारण स्थगित भएको थियो। स्थगित भएका खेलहरू सम्बन्धित क्लबहरूसँग छलफल पछि खेलाइने उपाध्यक्ष लामाले बताए।

जारी प्रतियोगितामा सोमबार पनि चार खेल हुने तालिका छ। जिल्ला लिगमा मकवानपुरका २८ क्लबको सहभागिता रहेको छ। लिगको विजेताले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउन पाउनुका साथै नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।

सुझावित समाचार