मर्स्याङ्दीमा दसैँलक्षित हाटबजार सञ्चालन गरिने

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दसैँलाई लक्षित गरी हाटबजार सञ्चालन गरिने भएको छ। गाउँपालिकाको आयोजनामा आइतबार भएको ‘कृषि हाटमेला सञ्चालनसम्बन्धी बैठक’मा दसैँलक्षित हाटबजार सञ्चालन गर्ने निर्णय भएको हो। बैठकले असोज १७, १८ र १९ गते तीन दिन हाटबजार सञ्चालन गर्ने निर्णय गरेको छ।

स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजारीकरणका लागि दसैँको अवसरमा पहिलोपटक हाटबजार मेला सञ्चालन गर्न लागिएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। गाउँपालिकामा प्रांगारिक मसला र जडीबुटी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले जनता एग्रो तथा फरेस्ट्री लिमिटेडसँग सहकार्य गर्ने निर्णय गरिएको र यसले किसानहरूलाई समेत जडीबुटी खेती गर्न उत्साहित गर्ने अपेक्षा लिइएको गाउँपालिकाले जनाएको छ।

बैठकले कृषक सञ्जाल अध्यक्ष भीष्मकान्त कुइँकेलको अध्यक्षतामा १५ सदस्यीय हाटबजार सञ्चालन समिति र गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा ११ सदस्यीय न्यूनतम समर्थन मूल्य निर्धारण समिति गठन भएको छ। यसैगरी, पाँचसदस्यीय कृषि तथा हाटबजार सल्लाहकार समितिसमेत गठन गरिएको छ।

सुझावित समाचार