गुल्मीदरबारको स्वास्थ्य समीक्षा : समस्या बन्दै नसर्ने रोग

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

गुल्मीको गुल्मीदरबारका गाउँगाउँमा नसर्ने रोगको समस्या बढ्दै गएको पाइएको छ। गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक गरेको स्वास्थ्यको वार्षिक समीक्षा प्रतिवेदनअनुसार पालिकाभित्र मिर्गौला रोगका ११, मुटुका १८, क्यान्सरका २५, उच्च रक्तचापका सात सय ११, मधुमेहका एक सय ५७ तथा श्वासप्रश्वास र दमका एक सय १७ बिरामी रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए।

खानपान, विपन्नता, चेतना र सर्वसुलभ स्वास्थ्य उपचार नभएका कारण नसर्ने रोगका कारण बिरामी सम्पत्ति सकेर ज्यानसमेत गुमाउन विवश छन्। गाउँगाउँमा नसर्ने रोगको समस्या विकराल बन्दै गएकाले सामुदायिक स्वास्थ्यको क्षेत्रलाई आगामी दिनमा प्रभावकारी बनाइने अर्यालले बताए।

गुल्मीदरबार गाउँपालिकामा ६ स्वास्थ्यचौकी, दुई सामुदायिक स्वास्थ्य एकाइ र एक आधारभूत स्वास्थ्य केन्द्र छन्।  गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण भएको छ । तर, सम्झौताअनुसारको रकम भुक्तानी नभएपछि निर्माण व्यावसायीले पालिकालाई हस्तान्तरण गरेका छैनन् । गुल्मीदरबार गाउँपालिकाले ८० वर्षभन्दा माथिका ४०९ ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । त्यस्तै, ३२ जनाको दरबन्दी रहेकोमा २५ जना कार्यरत छन् भने रिक्त जनशक्ति करारमा पदपूर्ति गरिएको छ।

‘मेरी आमा स्वस्थ आमा’ अभियानमार्फत मातृ शिशुको क्षेत्रमा थुप्रै रचनात्मक कार्यक्रम गरेको गाउँपालिकाले जनाएको छ। त्यस्तै पोषणको क्षेत्रमा गुल्मीदरबार गत वर्ष देशमै सबैभन्दा पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा भएको छ। नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापनसहित खोप तथा सामुदायिक स्वास्थ्यको क्षेत्रमा पनि काम गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक अर्यालले बताए।

जिल्लाभर साढे तीन सयभन्दा बढी मुटु, मिर्गौला र क्यान्सरका बिरामी रहेकाले अब सबै तहका सरकारका नीति, कार्यक्रम र बजेट नसर्ने रोगको नियन्त्रणतर्फ उन्मुख हुनुपर्ने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए। गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको मिहिनेतले स्वास्थ्य क्षेत्रमा आशा जगाउन सकिएकाले आगामी दिनमा अझै रचनात्मक काम गर्ने बताए।

पालिकाको स्वास्थ्य शाखाले प्रत्येक स्वास्थ्य संस्थाहरूसँग वर्षभर गरिने कामहरूको कार्यसम्पादन सम्झौतासमेत गरेको छ।

सुझावित समाचार