बागलुङको सबैभन्दा ठुलो स्थानीय तह बागलुङ नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा जिल्लामै प्रथम भएको छ। स्वमूल्यांकनमा जिल्लाका १० स्थानीय तहमध्ये बागलुङले ८४ अंक ल्याएर प्रथम भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को अन्तिम नतिजाअनुसार बागलुङ नगरपालिका जिल्लामै प्रथम भएको हो। जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका छन्। बागलुङ नगरपालिकाले शासकीय प्रबन्धमा नाै अंक, संगठन तथा प्रशासनमा सात अंक, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ९.५ र वित्तीय एवं आर्थिक व्यवस्थापनमा नाै अंक प्राप्त गरेको छ।
नगरपालिकाले सेवा प्रवाहमा १४.७५, न्यायिक कार्यसम्पादनमा ६.५, भौतिक पूर्वाधारमा ९.७५, सामाजिक समावेशीकरणमा ७.५, वातावरण संरक्षण तथा विपत् व्यवस्थापनमा ७.५ एवं सहकार्य र समन्वयमा ३.५ अंक प्राप्त गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। यसअघिको वर्षमा तेस्रो स्थानमा रहेको बागलुङ नगरपालिका यस वर्ष पहिलो स्थान प्राप्त गरेको हो।
जिल्लाको गलकोट नगरपालिकाले ८३.५० अंक प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेको छ भने जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले ८०.७५ बराबरी अंक ल्याएर जिल्लामा तेस्रो स्थान प्राप्त गरेका छन्। लिजामा निसीखोला गाउँपालिकाले ७३.५०, बडिगाड गाउँपालिकाले ७३, ताराखोला गाउँपालिका ६८.७५, तमानखोला गाउँपालिका ६५.२५ र ढोरपाटन नगरपालिकाले ६३ अंक प्राप्त गरेका छन्। जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्ने ढोरपाटन नगरपालिका रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
स्थानीय तहले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो। स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ।
लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबिच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने विश्वास लिइएको छ। नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्यांकन प्रणाली सार्वजनिक गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतशित अंक ल्याउनेलाई कमजोर, ६० देखि ८० प्रतिशत अंक ल्याउनेलाई राम्रो, ८० प्रतिशमाथि अंक ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रूपमा वर्गीकरण गर्ने गरेको छ।