राेकिराखेकाे ट्रकमा ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

कैलालीको गोदावरी नगरपालिका– १ धनगढी रोड पाठक पेट्रोलपम्पनजिकै सडकछेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– २ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अन्दाजी १ः१० बजे धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको ना.४ख ९६३ नम्बरको ट्रकको पछाडि भागमा सोही दिशातर्फ आउँदै गरेको से.५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको शरीरमा गम्भीर चोट लागेको थियो।

घाइते थापाको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जनाइएको छ। सोही मोटरसाइकल पछाडि सवार धनगढी– २ भन्सार रोडकै भुपेश पालको टाउको र खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको छ। ट्रकसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ।

सुझावित समाचार