ज्यापु कल्याण तालिम भवन सञ्चालनमा

कला, संस्कृति र सम्पदा संरक्षणका लागि प्रयोगमा ल्याइने

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन सञ्चालनमा आएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिबार भवन उद्घाटन गरे।

चिरीमैँ महर्जनले दान दिएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरू र अन्य संघसंस्थाको सहयोगमा भवन निर्माण गरिएको हो। दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम छ।

तीन करोड रुपैयाँको लगानीमा निर्माण गरिएको भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका मद्दत गर्ने तालिम सञ्चालन गरिनेछ। महानगर प्रमुख महर्जनले महानगरले दिने सम्पूर्ण तालिम उक्त भवनबाट दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे। 

कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि आयोजना गरिने तालिमलाई यस भवनमा प्राथमिकता दिइने उनको भनाइ थियो। जग्गा दान दिने व्यक्ति र परिवारले पवित्र काम गरेको भन्दै उनले धन्यवाद दिए। 

जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयालले कला, संस्कृति र सम्पदा संरक्षणका लागि तालिम भवन निर्माण गरेकोमा खुसी व्यक्त गरे। ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सीप प्रवर्द्धनसँग सम्बन्धित तालिमका लागि भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे। 

ललितपुर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अरोजकुमार खड्गीले आफ्नो वडामा ज्यापु कल्याण तालिम भवन निर्माण भएकोमा खुसी व्यक्त गरे। तालिम सञ्चालनका लागिसमेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

ज्यापु समाज यलका अध्यक्ष तीर्थ महर्जनले ज्यापु कल्याण तालिम भवन सम्पूर्ण महानगरवासीको गौरव भएको बताए। भवन निर्माणको लागि जग्गा दान दिने चिरीमैँ महर्जन र उनको परिवारलाई महर्जनले धन्यवाद दिए। कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानपत्र प्रदान गरिएको थियो। 

सुझावित समाचार