काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले रूपान्तरणको कठिन घडीमा महानगर प्रहरी बलको भूमिका अग्रपंक्तिमा रहेको बताएका छन्।
विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरणीय काम गरेको उनको भनाइ छ।
काठमाडौं महानगर प्रहरीको ३२औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनर्स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे।
‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरताजस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ,’ उनले भने।
प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा पनि प्रहरी बलले अग्रणी भूमिका खेलेको महानगर प्रमुख शाहको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सके आपसी सम्बन्धमा रहेर काम गर्न सकिने बताए।
महानगरका प्रवक्ता नवीन मानन्धरले नगर प्रहरीसँग स्रोत सीमित भए पनि आत्मविश्वास मजबुत रहेको धारणा राखे।
सुशासन समितिका संयोजक ख्यामराज तिवारीले कार्यक्रममा नगर प्रहरीको दिगो संगठन संरचनाका लागि काम थाल्ने वेला आएको बताए। ‘नगर प्रहरीले काठमाडौं जागा छ, जागा भइरहन्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘महानगर प्रहरी गएको दुई वर्षमा आफ्नो पहिचानलाई जनजनमा पुर्याउन सफल भएको छ।’
महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले ज्ञान, सीप र विवेकलाई कानुन, नीति र आदेशको पालनामा पूर्ण प्रयोग गरिएको धारणा राखे।
कार्यक्रममा नगर प्रहरी हवल्दार उषा अधिकारीलाई नगद ३० हजार रुपैयाँसहित महानगर प्रहरी गौरव पुरस्कार प्रदान गरिएको थियो।

यस्तै, नगर प्रहरी निरीक्षक श्यामप्रसाद तिमिल्सिनालाई २० हजार रुपैयाँसहित उत्कृष्ट महानगर प्रहरी पुरस्कार प्रदान गरियो। नगर प्रहरी नायब निरीक्षक ईश्वरीप्रसाद दाहाल, नगर प्रहरी हवल्दार विक्रम श्रेष्ठ र नगर प्रहरी हवल्दार पूर्णबहादुर श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित महानगर प्रहरी पुरस्कार प्रदान गरियो। यस्तै, नगर प्रहरी निरीक्षक रवि गुरुङ र ईश्वरप्रसाद वाग्लेलाई एक ग्रेड वृद्धि गरियो।
नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ। महानगरपालिकाले १४ भदौ ०५०बाट नगर प्रहरी सेवा थालेको हो। नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा अहिले चार सय आठजना जनशक्ति रहेको संगठनले काम गरिरहेको छ।