पाँच वर्षपछि जिल्ला लिग सुरु, साबिक विजेता न्यू डाँफेको सानदार सुरुवात

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

शुक्रबारबाट सुरु भएको मकवानपुर जिल्ला लिग फुटबलमा साविक विजेता न्यू डाँफे युथ क्लबले सानदार सुरुवात गरेको छ। उद्घाटन खेलमा डाँफेले महावीर क्लब हेटौँडालाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।

एकतर्फी भएको खेलमा डाँफेले पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा ५ गोल गरेको हो। डाँफेको सानदार जितका लागि सुशान्त तामाङले २ गोल गरे भने अभिषेक बल तामाङ, निश्चल थापा, रितेश श्रेष्ठ, बोधकुमार वाइबा र राजीव डिमडुङले समान १-१ गोल गरे।

खेलको म्यान अफ द म्याच डाँफेका सुशान्त लामा घोषित भए। ५ वर्षपछि पुन सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिताको विजेताले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउन पाउनुका साथै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका मेयर मीना लामाले गरेकी थिइन्। हेटौँडा- ११ स्थित सिमलटार खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन गर्दै लामाले लिगलाई निरन्तरता दिन आग्रह गरिन्। उनले यस वर्षको लिगको पहिलो पुरस्कारबापतको एक लाख रुपैयाँ उपमहानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

जिल्लामा रहेका २८ वटा क्लबलाई ए, बी र सी डिभिजनमा वर्गीकरण गर्ने गरी प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए। प्रतियोगिता हेटौँडा- ११ मा रहेको सिमलटार खेलमैदान र हेटौँडा- ६ मा रहेको गौरिटार रंगशालामा हुने अध्यक्ष लामाले बताए। 

सुझावित समाचार