विश्वकप लिग–२ : नेपालको अन्तिम तयारी श्रीलंकामा

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

नेपालले आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अन्तिम तयारी श्रीलंकामा गर्ने भएको छ । नेपालले आगामी सोमबारदेखि श्रीलंकामा तयारी गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि नेपालले दुई साता भारतमा अभ्यास गरेको थियो । श्रीलंका भ्रमणमा जाने टोलीमा तीन खेलाडी बाहिरिएका छन् । 

नेपालले श्रीलंका डेभलपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने भएको हो । श्रीलंका भ्रमणपछि नेपालले १४ सदस्य अन्तिम टोली घोषणा गर्नेछ । भारतको प्रशिक्षणपछि नेपाली टोलीबाट कमलसिंह ऐरी, बसिर अमहद र सूर्य तामाङ बाहिरिएका छन् । श्रीलंकामा १९ खेलाडीले प्रशिक्षण तथा अभ्यास खेल खेल्नेछन् । क्यानडा भ्रमणमा निस्कनुअघि नेपालले एक महिनाअघि २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । दुई हप्ता भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा अभ्यास गरेर नेपाल दुई दिनअघि स्वदेश फर्किएको हो । 

तीव्र गतिका बलरमा नेपालले सोमपाल कामी, करण केसी, रिजन ढकाल, गुलसन झा र आकाश चन्दलाई १९ सदस्य टोलीमा राखेको छ । आकाशलाई निरन्तरता दिएपछि कमल बाहिरिएका हुन् । अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा रहेका प्रतिश जिसीलाई बाहिर राख्दै अर्का बायाँहाते बलर रिजनलाई भित्र्याएको छ । 

नेपालले लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सिरिजमा नेपालले एक खेलमा मात्र जित निकाल्यो । नेपाल तीन खेलमा पराजित भएको थियो । सेप्टेम्बरमा क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ओमानबिच प्रतिस्पर्धा हुनेछ ।  

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । यो अक्टोबरमा हुनेछ । यस सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् । श्रीलंका जाने नेपाली टोलीमा कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सहभागिता जनाउनेछैनन् । यी दुवै खेलाडी क्यानडामा भएको ग्लोबल टी–२० पछि त्यहीँ नै प्रशिक्षण गरिरहेका छन् । 

१९ सदस्यीय नेपाली टोली 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी, सन्दीप जोरा । आइसिसी विश्वकप लिग–२ घरेलु टोली क्यानडासँगै नेपाल र ओमानबिच सेप्टेम्बर तेस्रो सातादेखि प्रतिस्पर्धा हुनेछ ।

सुझावित समाचार