संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
मन्त्री भएपछि पहिलोपटक यहाँ आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय कार्यान्वयनका सन्दर्भमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुटसहित हवाई कम्पनीहरूलाई आकर्षित गराउन खोजिएको बताए ।
उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बनाइने बताए । मन्त्री पाण्डेले भिसा अफिस, श्रमलगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरु गर्ने निर्णय भएको जानकारी दिए।
बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनको भनाइ छ । निरीक्षणअघि विमानस्थलको अवस्थाबारे गरिएको ब्रिफिङमा उनले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूहरूका तर्फबाट बौद्ध राष्ट्रहरूसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चीनलगायतका मुलुकका उच्चपदस्थ अधिकारीहरूसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकारात्मक जवाफ आएको बताए ।