कांग्रेस सभापति शेरबहादुर देउवाले महासमितिको प्रतिवेदनमा सहमति जुटाउन उपसभापति र महामन्त्रीसँग गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ । उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बिहीबार गरेको छलफलमा सहमति नजुटेपछि फेरि छलफल गर्नेगरी बैठक टुंगिएको हो ।
महामन्त्रीद्वयले पेस गरेको प्रतिवेदनमा गठबन्धन नीति र एक्जिट पोलिसीप्रति देउवा स्वयं असन्तुष्ट छन् । प्रतिवेदन परिमार्जन गराएर मात्र केन्द्रीय समितिमा प्रस्तुत गराउनका लागि उनले निरन्तर छलफल गरिरहेका छन् । यद्यपि, छलफल सकारात्मक दिशामै बढिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘छलफल सकारात्मक दिशातिरै गइरहेको छ, सहमतिउन्मुख छ,’ उनले भने, ‘त्यसैले तोकिएको समयमा बैठक बस्छ ।’ प्रतिवेदनमा सहमति नजुटेका कारण १२ भदौमा डाकिएको बैठक १६ भदौका लागि सारिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ । खासगरी महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ । यो विषयलाई मध्यमार्गी बनाएर जानेबारे देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
उपसभापति खड्काले पार्टीका सबै प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिमै पारित हुने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल एक्समा उनले तीनवटै प्रतिवेदन परिमार्जन हुने भनाइ सार्वजनिक गरेका हुन् ।