कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गराउन स्वास्थ्य मन्त्रालयलाई सुझाव

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

संघीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।

स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक सुधारका लागि गठन गरिएको सुझाव कार्यदलले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको हो। कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार योजनाअनुरूप मन्त्रालयले समिति गठन गरेको थियो।

सोही योजनाअनुसार बनाइएको प्रतिवेदनका सुझाव लागू गरे सेवामा सुधार आउने मन्त्री पौडेलले बताएका छन्। मन्त्री पौडेलले अस्पतालहरूमा कार्यरत स्वास्थ्य जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने योजनालाई अघि बढाउन रचनात्मक सुझाव प्राप्त भएको बताए।

प्रतिवेदन बुझ्दै पौडेलले भने, ‘स्वास्थ्य सेवा प्रदायकको सेवा गुणस्तर बढाउन गठित सुझाव कार्यदलको प्रतिवेदन ग्रहण गरेका छौँ। थप गृहकार्य गरेर प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने र आमनागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

समितिले बुझाएको प्रतिवेदन अध्ययन गरेर सुझावअनुसार व्यावहारिक सेवा सुधार गरिने मन्त्रालयले जनाएको छ।

सुझावित समाचार